श्रीमतीको हत्या आरोपमा सिरिजङ्गामा एक जना पक्राउ

खैनी माड्ने निहुँमा विवाद, प्रहरीको अनुसन्धान जारी

श्रावण १२, २०८२

आनन्द गौतम

A man arrested in Sirijanga for murdering his wife

ताप्लेजुङ — श्रीमतीको हत्या गरेको आरोपमा सिरिजङ्गा गाउँपालिका–५ याङपाङमा एक जना पक्राउ परेका छन् ।

खैनी माड्ने निहुँमा विवाद भएपछि सञ्जमान लिम्बूले श्रीमती शान्ति राईलाई कैंची प्रहार गरेका थिए । सडकमा हिँड्दै गर्दा रडले घोचेको भनेर श्रीमतीको अस्पतालमा उपचार समेत गराएका थिए । उनले अस्पतालमा श्रीमतीलाई पनि त्यही भन्न लगाएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार साउन ८ गते घाइते श्रीमतीको घाउ सिलाएपछि डेरामा लगेका थिए । तर स्वास्थ्यमा सुधार नभई दिसा पिसाबसमेत बन्द भएपछि फेरि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । मृतक श्रीमतीको यौनाङ्गभन्दा माथि कैंचीले प्रहार गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको गौतमले बताएका छन् ।

प्रहरीले पाएको सूचना र सञ्जमानका बहिनी ज्वाईं समेतबाट उनले श्रीमतीको ज्यान लिएको भन्ने खुल्न आएकाले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । 

३२ वर्षीय सञ्जमानले २०७५/७६ सालमा पाँचथरको सिंहपुर बस्ने तामाङ थरकी युवतीसँग पहिलो विवाह गरेका थिए । उनले छोडेपछि २०८१ वैशाखमा तेह्रथुमको खाम्लालुङ बस्ने तीन सन्तानकी आमा शान्तिलाई विवाह गरेर ताप्लेजुङ ल्याएका थिए । 

फुङलिङ नगरपालिका–११ फावाखोला बस्दै आएका उनीहरू दुई महिनाअघि फुङ्लिङ नगरपालिका–४ उकालीपानीमा बसेर ज्याला मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ । ८ गते बेलुका ५ बजेको समयमा उनीहरुबीचको विवाद हिंसामा परिणत भएको र हत्यासमेत गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सञ्जयलाई जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully