भतिजको कुटपिटबाट वृद्धको मृत्यु

श्रावण ११, २०८२

डम्बरसिं राई

Old man dies due to nephew's beating

खोटाङ — आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो ।

शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताएका छन् ।

कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा ल्याइएको थियो । उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।

कुटपिट गर्ने न्युसनलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । विवादको वास्तविक कारण अहिलेसम्म खुलेको छैन ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully