ताप्लेजुङ — सवारी दुर्घटनामा परी शिक्षकको मृत्यु भएपछि सिरिजङ्गा गाउँपालिकाले पालिकाभरिका विद्यालयमा सोमबारकालागि शोक बिदा दिएको छ ।
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीयमा कार्यरत भावना रसाइलीको विद्यालय जाने क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
गत वर्ष शिक्षक सेवा आयोग उत्तीर्ण गरी कार्यरत उनको निधनपछि गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट पालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको अधिकृत श्यामप्रसाद खतिवडाले जानकारी दिए ।
आइतबार बिहान सदरमुकाम फुङलिङबाट सिकैचा जाँदै गरेको बोलेरो जिप फुङलिङ नगरपालिका-११ फावाखोलामा ब्रेक फेल भइ दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भावनाको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । घाइते चालकलाई उपचारका लागि झापा लगिएको छ ।
