सवारी कारबाहीबाट ४९ लाख बढी राजश्व संकलन

एक सय ३३ वटा सवारी दुर्घटनामा एक सय ३६ जना घाइते

श्रावण ११, २०८२

डम्बरसिं राई

49 lakh more revenue collection from vehicle operation

What you should know

खोटाङ — जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले सवारी कारबाही वापत एक वर्षमा ४९ लाख बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट ४९ लाख ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको हो ।

२०८१ साउन–१ गतेदेखि २०८२ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार सात सय ४७ वटा सवारी साधन कारबाहीबाट उक्त राजस्व रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले बताएका छन् । 

उनका अनुसार तीन हजार एक सय १५ वटा कार, जिप तथा भ्यान कारबाहीबाट ३६ लाख ७७ हजार, एक हजार तीन सय ४६ वटा मोटर साइकलबाट ११ लाख ५६ हजार पाँच सय, पाँच सय ७७ वटा ट्रकबाट पाँच लाख २० हजार, एक सय ३६ वटा बसबाट एक लाख २१ हजार पााच सय राजस्व संकलन भएको हो । 

त्यस्तै ९८ वटा ट्रिपरबाट ८६ हजार पाँच सय, तीन सय ५७ ट्याक्टरबाट दुई लाख ८२ हजार, एक सय १७ वटा टेम्पो कारबाहीबाट एक लाख पाँच हजार राजस्व संकलन भएको राईले बताएका छन् ।

बिना अनुमतिपत्र सवारी चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबााधेको, मोटरसाइकल चालकले हेलमेट नलगाएको तथा नम्बर प्लेट उल्लेख नभएको सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको राईले बताए ।

‘ट्राफिक नियम उलंघन गर्नेहरूबाट ४९ लाख ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको हो,’ राईले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने चालक, सहचालक र सवारी धनीलाई कारबाहीसँगै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनासम्बन्धी जानकारी दिन विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने गरिएको छ ।’

खोटाङमा गत आर्थिक वर्ष सवारी साधन दुर्घटनाबाट ६ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । जिल्लामा एक सय ३३ वटा सवारी दुर्घटनामा परी एक सय ३६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully