साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पहिरोले बगाएको सडक मर्मत गरी यातायात सञ्चालन गरिएको जानकारी दिएका छन्।
खोटाङ — साकेला गाउँपालिकामा वर्षात्का कारण भत्किएको सडक मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडक जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्थानीय लगायतको सक्रियतामा मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।
उक्त सडकअन्तर्गत बाँझेच्यानडाँडास्थित रूपुवा खोला नजिक गत मंगलबार राति पहिरोले बगाएपछि मर्मत गरी यातायात सञ्चालन गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताएका छन् । पहिरोले करिब ५० लाख रूपैयाँ बराबरको क्षति भएको राईले सुनाए । उक्त गाउँपालिकाले गौरवको आयोजनाअन्तर्गत राखेर स्थानीय, प्रदेश तथा संघीय सरकारको बजेटबाट सडक निर्माणाधीन अवस्थामा छ ।
उक्त सडकका लागि गत आर्थिक वर्ष २०८१/०८२ मा संघीय समपुरक तथा चालु आर्थिक वर्ष ०८२/०८३ का लागि संघीय समपुरक योजनाअन्तर्गत १ करोड २५ लाख रूपैयाँसहित स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा निर्माणाधीन अवस्थामा छ ।
