ताप्लेजुङ — फुङलिङ नगरपालिकाले सदरमुकामभित्र अव्यवस्थित तरिकाले पालिएका सुँगुरका खोर हटाउने भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरूले नगरपालिकालाई यो निर्णय फिर्ता लिन माग गरेका छन् ।
अव्यवस्थित पालिएका सुँगुरका खोरले दुर्गन्ध फैलाएको र रोगको सङ्क्रमण हुनसक्ने भएको भन्दै नगरपालिकाले सात दिनको समय दिएर असार २७ गते सूचना प्रकाशन तथा प्रसारण गरेको थियो । साउन ४ गतेसम्म व्यवस्थित गरिसक्न अपील गरिएको भए पनि अहिलेसम्म कसैले हटाएका वा व्यवस्थित गरेका छैनन् ।
नगरपालिका कार्यान्वयनमा जाने भएपछि सुँगुर पालक किसान विरोधमा निस्किएका हुन् । उनीहरूको एक सूत्रीय माग यथावतै रहनुपर्ने रहेको छ । नगरपालिकाले तोक्मेडाँडा कफी हाउस क्षेत्र, तोक्मेडाँडा हुँदै पालसिङ डाँडा, बुद्धचोक, बिहीबारे, आसपासका क्षेत्र, सेर्पाटोल, दाहालगाउँ, बाझोगरा प्रावि आसपासको क्षेत्र र वीरेन्द्रचोक, हुलाकटोल, नवज्योति बोर्डिङ स्कुल नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासको क्षेत्रका खोर हटाउन भनेको छ ।
यस्तै बालमन्दिर विद्यालय, पुरानो गोस लाइन, कञ्चनजङ्घा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन आसपासको क्षेत्र र भानु स्कुल, सेती धारा, बोझे आसपासको क्षेत्रका खोर हटाउन भनिएको छ । यो सूचना कार्यान्वयन भए नगरपालिकाको सदरमुकाम फुङलिङ भित्र कतै पनि सुँगुर, बङ्गुर पाल्न पाइने छैन ।
यसले बजारका सबै क्षेत्र समेटेको छ । नगरपालिकाले दिएको समयसीमा गुज्रदा पनि अहिलेसम्म कसैले हटाएका भने छैनन् ।
