५ दिनपछि हेवाखोला डाइभर्सन सञ्चालनमा

श्रावण ८, २०८२

लक्ष्मी गौतम

Hewakhola diversion operational after 5 days

पाँचथर — ५ दिनदेखि अवरुद्ध रहेको मेची राजमार्ग पाँचथर खण्डअन्तर्गतको हेवा खोला डाइभर्सन मर्मत गरेसँगै यातायात र ढुवानीका साधन वारपार हुन थालेका छन् । हेवा खोलामा शनिबार राति आएको बाढीले त्यहाँ बनाइएको डाइभर्सनमा क्षति पुर्‍याएको थियो । 

सडक डिभिजन इलामले खोलामा पानीको मात्रा घटेसँगै डाइभर्सन मर्मत गरी सडक खुलाएको हो । निरन्तरको प्रयासपश्चात बिहीबार साँझ साढे ६ बजेदेखि हेवाखोला डाइभर्सनबाट दुईपाङ्ग्रे,तीनपाङ्ग्रे र सबैखाले हलुका सवारी साधनसँगै ढुवानीका साधन समेत वारपार गराउन थालिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार पुनः ठूलो बाढी आएर डाइभर्सनमा थप क्षति नपुगे यातायात र ढुवानीका साधन निरन्तर चल्नेछन् ।

हेवाखोलाको मुहान क्षेत्र फालेलुङ र फेमेखोलाको मुहान फिदिम नगरपालिका १२ र १३ सहितका उच्च पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले बाढी आउने सम्भावना भने यथावत छ । हेवाखोलाको पक्की पुल सबैभन्दा पहिले २०८० असार २ गते बाढीले बगाएको थियो ।

त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते पुनः बाढीले बगायो भने तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएसँसगै हेवा खोलामा डाइभर्सनको भरले यातायात र ढुवानीका साधन आउजाउ गरिरहेका छन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully