५० मेगावाटको युनाइटेड मेवा हाइड्रोले असोजदेखि उत्पादन थाल्ने

श्रावण ८, २०८२

आनन्द गौतम

50 MW United Mewa Hydro will start production from October

ताप्लेजुङ — ५० मेगावाट क्षमताको युनाइटेड मेवा हाइड्रोले आगामी असोजदेखि उत्पादन सुरु गर्ने भएको छ । अहिलेसम्म ९९ प्रतिशत काम सम्पन्न गरेको यो आयोजनाले विद्युत् गृह, सुरुङमार्ग, मुख्य टर्वाइन जडानको अन्तिम चरणको काम गरिरहेको जनाएको छ ।

असोजमा उत्पादन सुरु भए जिल्लामा धेरै उत्पादन क्षमताको यो दोस्रो विद्युतगृह हुनेछ । यसअघि मध्यतमोर जलविद्युत् आयोजनाबाट ७३ मेगावाट उत्पादन सुरु भएको छ । आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेमका अनुसार साउन र भदौ महिनामा सम्पूर्ण काम सक्ने र परीक्षण उत्पादन सुरु गर्ने तयारी छ । मेवा खोलावाट उत्पादन गर्न लागिएको यो सबभन्दा ठूलो आयोजना पनि हो । 

मेरिङदेन र मिक्वाखोला गाउँपालिकामा यसको संरचना रहेको छ । इन्जिनियर ओमप्रकाश चौधरीका अनुसार चार हजार आठ सय मिटर लम्बाईको सुरुङमार्ग छ । भूगर्भविद् राजेन्द्र भट्टले बलियो ठाउँमा सुरुङ निर्माण गरिएकाले युनाइटेड मेवा देशभरमै बलियो र टिकाउ आयोजना हुने दाबी गरे ।

यहाँको उत्पादन मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए सबस्टेसन प्रसारण लाइनमा जोडिने छ । विद्युत् गृह रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि सव–स्टेसनसम्मको दूरी आठ किलोमिटर छ । २८ वटा टावर निर्माण गरी प्रसारण केन्द्रमा पुर्‍याइने आयोजनाले जनाएको छ ।

नौ अर्बको लागतमा आयोजना सम्पन्न हुन लागेको केदेमले जानकारी दिए । मेरिङ्देन गाउँपालिका–५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिबाङ पुछार नावा क्षेत्रमा आयोजनाको बाँध रहेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully