पाँचथर — खोलामा पानीको सतह घटेसँगै चार दिनदेखि अवरुद्ध मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेंवा खोलाबाट गाडी तर्न थालेका छन् ।बुधबार बिहानैदेखि यो खोलामा चार पाङ्ग्रे साधन वारपार गर्न थालेका हुन् ।
बाढीले क्षति पुर्याएको डाइभर्सन मर्मत नभएपछि सवारी चालकले जोखिम मोलेर सवारी र ढुवानीका साधन हेंवा खोला वारपार गराउँदै आएका छन् ।
मंगलबार अपरान्हदेखि बुधबारसम्म सय भन्दा धेरै गाडीले हेंवा पार गरेको सडक डिभिजन इलामका हेंवा खोलास्थित फिल्ड सुपरभाइजर डम्बर मिश्रले जानकारी दिए ।
दुई पाङ्ग्रे र तीन पाङ्ग्रे साधन भने खोला तर्न सक्ने अवस्था अझै पनि छैन । यद्यपि वारि र पारी रोकिएका मोटरसाइकल र स्कुटर ट्याक्टरमा बोकाएर वारपार गराइएको थियो ।
दिउँसो आंशिक रुपमा सवारी आवागमन भएको हेंवा खोलामा सुरक्षाको जोखिम लगायतका कारण साँझ खोलामा सवारी र ढुवानी साधन नहाल्न प्रहरीले आग्रह गरेको छ ।
खुलाका मुहान क्षेत्रमा पानी परिरहेकाले पुनः बाढी आउने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय पाँचथरले सर्वसाधारणलाई आग्रह गरेको छ ।
