What you should know
सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल र वडा नम्बर ४ जुवुको सिमाना दुधकोशी नदीमा निर्माणाधीन मोटरेवल पुल बाढीले बगाएको छ ।
निर्माणको चरणमा रहेको उक्त मोटरेवल पुल गत असार २५ गते र साउन ३ गते आएको वर्षातपछिको बाढीले पूर्णरुपमा क्षतिग्रस्त बनेको हो । करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल निर्माण सम्पन्न हुनुअगावै भत्किएको हो ।
बाढीका कारण सोही गाउँपालिकाको नेले र काँगेल हुँदै बहने शिखु खोलामा भारी गेगर (ढुंगा)सहितको बाढी आएपछि उक्त बाढीले दुधकोशी करिव १० मिनेट थुनिएको थियो । पूर्ण रूपमा बन्द भएको दुधकोशी फुटेर उक्त गेगर निर्माणाधीन पुल क्षेत्रमा गएर थुप्रिँदा पुल पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेको हो ।
खाम्पाचे निर्माण कम्पनीले १७ करोड ५० लाखको लागतमा २०७६ सालमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ७ वर्ष लगाएर बल्ल बल्ल करिव ७० प्रतिशत काम सम्पन्न गरेको थियो । गत साउन ३२ मा आएको बाढीले सोही स्थानमा निर्माणाधीन पुलको पिलर बगाइदिएको थियो । सो पश्चात् निर्माण कम्पनीले चाँडो काम सक्ने होडमा उचित स्थान र सही डिजाइन बिना काम गर्दा यो अवस्था निम्तिएको स्थानीय टेकबहादुर बस्नेतले बताए।
पुल बाढीले बगाएपछि थुलुङ दुधकोशी गाउँपालिका- ४, ५ र ९ का नागरिकले झिनो आशाको दियो निभेको महसुस गरेका छन् । उक्त मोटरेबल पुल बन्ने अनिश्चित भएपछि सो वडाका नागरिकले फेरि एकपटक झोलुङ्गे पुलको प्रयोग गरी गाउँपालिकाको केन्द्रसहित जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता आइपरेको छ । जसका कारण वर्षायाममा सिधा सवारी साधन आवतजावतबाट नागरिक वञ्चित हुने थुलुङ दुधकोशी-२ का वडाध्यक्ष युजन बस्नेतको भनाइ छ ।
