न्यायाधीशका २३० दिन, ४१३ मुद्दा फैसला

जिल्ला अदालत ताप्लेजुङमा १८ महिनाभन्दा माथिका मुद्दा अब शून्य

श्रावण ५, २०८२

आनन्द गौतम

230 days of judgeship, 413 cases decided

What you should know

काठमाडौँ — ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु जस्तै हो’ भन्ने भनाइ न्याय क्षेत्रमा प्रचलित छ । तर पछिल्ला वर्ष जिल्ला अदालतको हकमा भने फैसला प्रक्रिया तीव्र देखिएको छ । जिल्ला अदालत ताप्लेजुङमा त एकजना न्यायाधीशले एक आर्थिक वर्षमा चार सय १३ वटा मुद्दाको फैसला गरेको पाइएको छ ।

आर्थिक वर्ष प्रारम्भको महिना दिनपछि सरुवा भई आएका ताप्लेजुङ जिल्ला न्यायाधीश विकास श्रेष्ठले दुई सय ३० कार्यदिनमा चार सय १३ मुद्दाको फैसला गरेका हुन् । 

न्यायाधीश श्रेष्ठ गत भदौ ५ गते सरुवा आएका हुन् । एक महिनासम्म सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा भएको वडाध्यक्षको उपनिर्वाचनमा उनी व्यस्त रहे । सदरमुकामबाट टाढा भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापनादेखि निर्वाचन सम्पन्न हुँदासम्म त्यही बस्नुपरेकाले अदालतको काम हुन सकेको थिएन ।

स्रेस्तेदार मनोज बरालका अनुसार जिल्ला अदालतमा १८ महिनाभन्दा माथिका मुद्दा अब एउटा पनि छैनन् । सबै शून्य भएको छ । न्यायाधीश श्रेष्ठले जिल्ला अदालतबाट फैसला भएर उच्च अदालतमा पुगेको १८ महिना माथिको मुद्दा टुङ्ग्याइदिन माथिल्लो निकायमा अनुरोध गरेर पनि डेढ वर्षभन्दा माथिका मुद्दाको किराना लगाएको बरालले बताए ।

अदालतका सूचना अधिकारी विष्णुकुमार राईका अनुसार २०८२ असार मसान्तमा दुई वर्ष पुग्ने १७ र १८ महिना पुग्ने ४७ थान मुद्दा थिए । ती सबै फैसला भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका एक सय २७ मध्ये एक सय २० वटा फर्स्यौट भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका चार सय ५२ मुद्दा थिए । पुराना सरी आएका, नयाँ दर्ता भएका समेतगरी पाँच सय ७९ मुद्दामध्ये चालु आर्थिक वर्षका लागि एक सय ५९ बाँकी रहेको राईले जानकारी दिए ।

एकल इजलास रहेको ताप्लेजुङमा २०७७/७८ मा तीन सय १३, ०७८/७९ मा चार सय १२, ०७९/८० मा तीन सय २९, ०८०/८१ मा तीन सय ६८ र ०८१/८२ मा चार सय २० मुद्दाको फैसला भएको हो । सामान्यतया एकजना न्यायाधीश एउटा जिल्लामा दुई वर्षसम्म रहने प्रचलन छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully