पाँचथरमा अविरल वर्षा, बाढी-पहिरोले मुख्य सडक अवरुद्ध

श्रावण ४, २०८२

लक्ष्मी गौतम

Incessant rain in Panchthar, floods and landslides blocked the main road

What you should know

पाँचथर — शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन् । मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार यहाँ बनाइएका डाइभर्सनको तह पार गरेर धमिलो पानी बगिरहेका कारण यातायात ठप्प भएको हो । यो खोलाको पुल पटक-पटकको बाढीले बगाएपछि तीन वर्षदेखि यहाँ डाइभर्सनको भरमा यातायात वारपार गराइँदै आएको छ ।

तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको छ भने ठाउँठाउँमा गएको पहिरोका कारण राँके-रवि ६ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि ठप्प भएको छ ।

यता मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याएको छ । उता पाँचथरकै फिदिमदेखि भारतसँगको सीमावर्ती फालौटलाई जोडने फिदिम याङनाम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ । जसका कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन् ।

साँझदेखि जारी वर्षा बिहान पनि रोकिएको छैन । ठाउँठाउँमा आरिघोप्टे वर्षा भइरहेका कारण पहिरोको जोखिम यथावत् रहेकाले जिल्ला प्रशासन कार्यालय पाँचथरले सचेत रहन सर्वसाधारणलाई सूचना मार्फत आहृवान गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully