What you should know
खोटाङ — अभिभावक तथा संरक्षकविहीन एक बालकलाई ललितपुरस्थित मातृवात्सल्यमा पठाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित प्रभुराज राईको घरमा बस्दै आएका ११ वर्षीय विशाल परियारलाई आइतबार ललितपुर पठाइएको हो ।
अभिभावक तथा संरक्षक नभएपछि बेवारिसे अवस्थामा डुलिहिँडेका उनलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाबाट वडाध्यक्ष मुगाधन राईले लिएर दिक्तेल आएका हुन् । त्यसपछि ललितपुरस्थित मातृवात्सल्य पठाइएको नगर उपप्रमुख विसन राईले बताए ।
अभिभावक तथा संरक्षकविहीन भई सडक तथा अन्य व्यक्तिको घरमा बेवारिसे भई बस्दै आएका उनलाई उद्धार गरी विशेष संरक्षण गर्नुपर्ने भनी नगरपालिकाले ठहर गरेको हुँदा सम्बन्धित वडा समितिको निर्णय तथा सिफारिस, जिल्ला प्रहरी कार्यालयको स्थलगत मुचुल्का, स्थानीय बालअधिकार समितिको निर्णय र नगर कार्यपालिकाको निर्णयबमोजिम उनलाई उद्धार गरी मातृवात्सल्य पठाइएको महिला तथा बालबालिका शाखाकी प्रमुख इरन राईले बताइन् । उनलाई नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सहजकर्ता दीपशीखा खनाल र नगर प्रहरी सम्झना भट्टराईको साथमा ललितपुर पठाइएको हो । विशाललाई स्वीकृति प्राप्त बालगृहमा राखिने राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बानियाँले बताए ।
विशालका दिदी र बहिनीलाई समेत मातृवात्सल्यमा पठाउने तयारी गरिएको तर जान नमानेको उपप्रमुख राईको भनाइ छ । उनका आमा–बाबुले छाडेर गएपछि उनीहरू बिचल्लीमा परेका हुन् । ‘बिचल्लीमा परेका तीन बालबालिकामध्ये एक जनालाई मातृवात्सल्य पठाइएको छ,’ राईले भने, ‘अन्य दुई जनालाई पनि सम्झाइबुझाइ पठाउने कोसिसमा छौं ।’
