What you should know
काठमाडौँ — संखुवासभाको धर्मदेवी-४ र मादी नगरपालिका-६ जोड्ने पक्की पुल तथा चैनपुर-१ र मादी-९ जोडने पुल शनिबारबाट सञ्चालनमा आएका छन् ।
दुवै पक्की पुल शनिबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरे । 'पुल सञ्चालनपछि स्थानीयलाई चैनपुरसम्म आउनजान सजिलो हुनेछ । अब किसानले उत्पादन गरेका कृषि उपजले पनि बजार पाउनेछ,' उनले भने ।
चैनपुर र मादी जोड्ने यावरा खोलामा ६३ मिटर लामो पुल निर्माण गरिएकाे हो । २०७३ भदौ २८ बाट निर्माण थालिएको पुल २०७९ पुस १२ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । ठेकेदारको लापरबाहीका कारण झन्डै ३ वर्षपछि सम्पन्न भएको हो । पुल निर्माण गर्न ७ करोड १९ लाख ६५ हजार खर्च भएको डिभिजन सडक तुम्लिङटारले जनाएको छ । पुल निर्माणको जिम्मा कुन्सालिङ निर्माण सेवा भोजपुरले लिएको थियो ।
त्यस्तै धर्मदेवी-४ र मादी-६ जोड्न मायाखोलामा ६३ मिटरको पुल बनेको छ । २०७४ भदौ २४ बाट निर्माण थालिएको पुल २०७६ फागुन २ गते सम्पन्न हुनुपर्ने थियो । ठेकदारकै कारण यो पुल पनि झन्डै साढे ३ वर्षपछि निर्माण सम्पन्न गरिएको हो । पुल निर्माणका लागि ६ करोड २५ लाख ३९ हजार लागत लागेको छ । पुल निर्माणको जिम्मा बीटी निर्माण सेवाले लिएको थियो ।
