झापामा मात्रै एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु

श्रावण ३, २०८२

रासस

One thousand 296 vehicle accidents in Jhapa alone in one year, 95 people died

What you should know

झापा — जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ ।

यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्र्तगत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने एक हजार २५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको ट्राफिक प्रहरी निरीक्षक पौडेलले बताए । यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उनले बताए। 

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।

ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको ट्राप्रनि पौडेलले बताए। कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो÷सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उनको भनाइ छ ।

रासस

Link copied successfully