What you should know
खोटाङ — स्थानीय उत्पादनको प्रवर्द्धन लगायतका विभिन्न सात सूत्रीय माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन् ।
दिक्तेलमा शनिबार पत्रकार सम्मेलन गरी नगरले जेठ २३ गते र असार ६ गते प्रधानमन्त्रीसमक्ष पठाएको सात सूत्रीय मागबारे वर्तमान सरकार उदासीन देखिएकाले सत्याग्रह बस्नुपर्ने बाध्यता आएको भट्टराईले बताएका हुन् ।
असार ९ मा भएको नगरपालिकाको १३ औं नगरसभाले नेपाल सरकारसमक्ष राखेको विभिन्न सातबुँदे माग पूरा नगरे सत्याग्रह गर्ने निर्णय गरेकाले आगामी साउन ११ गतेदेखि सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरी मुखमा कालोपट्टी बाँधेर खाली खुट्टा बाँसको घना बोकेर माइतीघर मण्डला पुगी विहान ९ बजेदेखि ५ बजेसम्म तीन दिन भोक हड्तालमा बस्ने भट्टराईले सुनाए । ‘तीन दिनसम्म पनि माग पूरा नगरे साउन १४ देखि आमरण अनसनमा बस्ने छु,’ उनले भने ।
भट्टराईका अनुसार जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानुन बनाउँदै धेरै प्रदूषण गर्ने देशहरूसँग क्षतिपूर्ति लिनु पर्ने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानुनी निर्णय गर्नुपर्ने माग राखिएको छ । त्यस्तै प्लास्टिकजन्य फोहर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त दश प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कडाइका साथ रोकी कडा कानुन बनाई कारबाही गर्नुपर्ने माग गरिएको भट्टराईले जनाएका छन् ।
त्यसैगरी वन र उद्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बाँस, काठ, राडी, वातावरण र पर्यावरणमत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गर्नुका साथै खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने, काठमाडौं–खोटाङ सडक खण्डका पुल, सडक अलपत्र पार्ने व्यवसायीलाई कानुनी कारबाही गरी निर्माणको काम सम्पन्न गर्नुपर्ने र पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइँसराइको दर बढेकाले नीतिगत निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताएका छन् । ‘यी माग पूरा गर्न वर्तमान सरकार उदासीन देखिएकाले सत्याग्रह बस्नुपर्ने अवस्था आएको हो,’ भट्टराईले भने, ‘सत्याग्रहका लागि खोटाङबाटै बाँस, बाँसका चित्रा, राडी लगायतका सामान बोकेर साउन ४ गते काठमाडौं पुग्दै छु ।’
पत्रकार सम्मेलनमा गत साउन १ गतेदेखि नगरपालिका तथा वडाहरूको लेटरहेडमा किराती लिपी प्रयोग गरिएको जानकारी गराएका छन् । त्यस्तै प्लाष्टिकको झोला, बोतल लगायतका प्रयोगले मानिसलाई रोग लाग्ने तथा जलवायु परिवर्तनमा समेत प्लाष्टिक प्रयोगले असर गर्ने भएकाले साउन १ गतेदेखि नै नगरपालिकामा पानीको बोतल, पेय पदार्थ, प्लाष्टिकको झोला लैजान रोक लगाइएको समेत पत्रकार सम्मेलनमा बताएका छन् ।
