What you should know
सुनसरी — इटहरी उपमहानगरपालिकामा बजेट शून्यतामा गएपछि नेकपा माओवादीले आन्दोलनको चेतावनी दिएको छ । इटहरी उपमहानगरले आर्थिक वर्ष २०८२–८३ का लागि बजेट ल्याए पनि पास गर्न नसकेपछि बजेट शून्यताको अवस्था आएको हो ।
एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले एकले अर्कोलाई दोष देखाउँदै समस्याबाट पन्छिन खोजेको भन्दै माओवादीले चरणबद्ध आन्दोलनको चेतावनी दिएको हो ।
माओवादी इटहरीले शनिबार विज्ञप्ति जारी गर्दै २०८१/०८२ को अन्त्यसम्म पनि २०८०/०८१ मा सम्पन्न आयोजनाको भुक्तानी गर्न उपमहानगर कार्यालय असक्षम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपमहानगर प्रमुख हेमकर्ण पौडेलले सञ्चारकर्मीमाथि लगाएका आधारहीन आरोप तथा लाञ्छनाको पनि माओवादीले विरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टी संविधानले नै सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति प्रतिबद्ध रहेको कुरा जानकारी गराउँछौं ।'
इटहरी उपमहानगरमा भएका बेथिति विभिन्न सञ्चारमाध्यममा आएपछि नगरप्रमुख पौडेलले 'दानापानी नझरेपछि पत्रकारले समाचार प्रकाशित तथा प्रकाशन गर्ने गरेको' आरोप लगाएका थिए ।
माओवादीले उपमहानगरमा बढ्दो बेरुजुप्रति समेत आपत्ति जनाएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु इटहरीको रहेको छ ।
