फुङलिङ-८ मा बालबालिका र ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

श्रावण १, २०८२

आनन्द गौतम

Free ambulance service to children and senior citizens in Fungling-8

ताप्लेजुङ — फुङलिङ नगरपालिका-८ का ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा नि:शुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।

फुङलिङ-८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको हो । उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग  सम्पर्क गरे तत्कालै सेवा पाउने वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए । अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धालक्षित कार्यक्रम राखिएको उनले बताए ।

नगरपालिकाभित्र भएर पनि वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाएकाले यस्तो सेवा प्रारम्भ गरिएको सुनुवार बताउँछन् । 

यो वडाले अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यसले घरदेखि घाटसम्म पुर्‍याउन यातायात सुविधामा पनि सहयोग पुगेको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।

वडाका हरेक विद्यालयमा सबैभन्दा बढी उपस्थित विद्यार्थीले १५, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउँदै आएका छन् । सात वटा विद्यालयका २१ जना विद्यार्थी हरेक वर्ष पुरस्कृत हुन्छन् । वडाभरिका वर्षभरि उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई समेत वडाले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।

नगरपालिकाभित्र भएर पनि दुर्गम वडा भएकाले नागरिकको सुविधाका कार्यक्रम ल्याउनुपरेको वडाध्यक्ष सुनुवार बताउँछन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully