पाँचथरको फाल्गुनन्दमा सेप्टिक ट्यांकी निर्माणमा खटिएका मजदुरको निसासिएर मृत्यु, तीन जना बेहोस

असार ३२, २०८२

लक्ष्मी गौतम

A laborer engaged in the construction of a septic tank died of suffocation in Phalgunand of Panchthar, three people were unconscious.

पाँचथर — फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सहकारी संस्था भवनको सेप्टिक ट्यांकीको सर्टिङ खोल्ने क्रममा निसासिएर एक जना मजदुरको ज्यान गएको छ ।

फाल्गुनन्द –५ स्थित घुर्विसे पञ्चमी सहकारी संस्था निर्माणाधीन भवनको सेप्टिक ट्यांकी ढलानका क्रममा प्रयोग गरिएका काठ बाँस झिक्न जाँदा निसासिएर ३८ वर्षीय रत्न चेम्जोङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनीहरु बुधबार साँझ करिब साढे पाँचबजेतिर अचेत अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी(प्रहरी निरिक्षक) रुपेश तामाङका अनुसार घटनामा २४ वर्षीय भीष्म चेम्जोङ, ४० वर्षीय बीरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङ बेहोस भएका छन् ।

उनीहरुलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याइएको छ । उद्धारपछि थप उपचारका क्रममा इलाम पुर्‍याउँदा रत्नलाई त्यहाँकै चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक रत्नसहित भीष्म र बीरु सेप्टिक ट्यांकी खोल्न खटिएका मजदुर थिए भने संगीत उनीहरुको उद्धारका लागि खाल्डोमा जाँदा बेहोस भएका थिए । उनको भने तत्काल होस खुलेको बताइएको छ । 

A laborer engaged in the construction of a septic tank died of suffocation in Phalgunand of Panchthar, three people were unconscious.

श्रमिक बेहोस भएको सूचना पछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राई सहितका प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।

सुरक्षाकर्मी र स्थानीयको प्रयासले उद्धार सम्भव नभएपछि एक्स्काभेटर प्रयोग गरेर बाटो बनाउँदै उद्वार गरिएको राईले जानकारी दिए ।

करिब १० मिटर उचाइको सेप्टिक ट्यांकीमा अक्सिजनको मात्रा कम भएर उनीहरु बेहोस भएको उद्धारमा खटेका प्रहरी सहायक निरीक्षक राईको भनाइ छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully