असार २५ देखि अवरुद्ध उत्तर दक्षिण लोकमार्गको लेलेप खण्ड खुल्यो 

असार ३१, २०८२

आनन्द गौतम

The Lelep section of the north-south highway, which has been blocked since June 25, has been opened

ताप्लेजुङ — गत असार २५ को वर्षासँगै थाक्पु खोलामा आएको बाढीले अवरुद्ध बनाएको उत्तर दक्षीण लोकमार्ग मंगलबारदेखि सञ्चालनमा आएको छ ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू मुत्तीका अनुसार २७ गतेदेखि सुरु भएको मर्मत कार्य मंगलबार सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । 

बाढीले तहसनहस बनाएको लेलेप थाक्पुखोला लावाजेन जाने बाटो र उत्तर दक्षिण लोकमार्ग पुनर्निर्माणमा दुई वटा एक्स्काभेटर मेसिन प्रयोग गर्नु परेको लिम्बूले बताए । मेसिन सुपर तमोर हाइड्रो पावर कम्पनीले उपलब्ध गराएको थियो । सडक मर्मतका लागि आवश्यक इन्धन भने गाउँपालिकाले दिएको अध्यक्ष लिम्बूले जानकारी दिए । 

सदरमुकामबाट ओलाङचुङगोला हुँदै टिपताला भन्ज्याङसम्म जाने यो सडक अब इलाडाँडा हुँदै सुकेपानीसम्म चल्नेछ । सुकेपानीमा भने तमोर नदीमा पानीको बहाव बढेकाले गाडी पार गर्न नसक्ने चालकले बताएका छन् ।

यसवर्षको वर्षाले लेलेपको थाक्पुखोलामा पैदलयात्री हिँड्ने आरसीसी पुल दुईवटा र याम्फुदिन हुँदै कञ्चनजंघा बेसक्याम्प जाने सिम्बुवाखोलाको झोलुंगे पुल बगाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully