सुनसरीमा बढ्दो हतियार आतंक : घरायसी विवाददेखि आपराधिक योजनासम्म बन्दुकको प्रयोग

अपराध गरेर नेपाल प्रवेश गर्ने र घटनापछि फेरि सीमा पार गरेर भारततिर भाग्ने प्रवृत्तिले प्रहरीलाई चुनौती

असार ३०, २०८२

पर्वत पाेर्तेल

Rising gun terror in Sunsari: Use of firearms from domestic disputes to criminal schemes

विराटनगर — भारत बिहारको पत्राहा पञ्चायत–१६, घुर्नाबाट आएका भिनाजु २९ वर्षीय आजात मियाँ जटलाई असरी खातुनले आतिथ्यपूर्वक घरमा सत्कार गरिन् । उनलाई मिठो–मसिनो खुवाइन् । सास–ससुराले सम्मान भाव देखाए । घरधन्दा सकेपछि उनी बिछ्यौनामा पल्टिइन् । सायद उनले कल्पना पनि गरेकी थिइनन्, पाहुना आएका भिनाजुले यस्तोसम्म गर्लान् !

तर, सोमबार बिहान करिब साढे ४ बजे सुनसरीको हरिपुर–६ मा त्यो अकल्पनीय घटना भयो । बिछ्यौनामै पल्टिरहेकी १६ वर्षीया किशोरीमाथि भिनाजुले नजिकैबाट गोली दागेर हत्या गरे । गोली टाउकाको पछिल्लो भागमा लाग्यो । उनी घटनास्थलमै ढलिन् । 

‘जबरजस्ती गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि गोली हानिएको हो कि भन्ने प्रारम्भिक अनुमान छ,’ सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले भने, ‘घटनाको सूक्ष्म रूपमा अध्ययन गरिरहेका छौं ।’

उनका अनुसार, घटनालगत्तै आजात मियाँ मंगलबार सखारै सीमा पार गरेर भारततर्फ फरार भएको अनुमान गरिएको छ । उनी पेसेवर अपराधी रहेको र भारतमै दर्जनौं आपराधिक घटनामा संलग्नता पुष्टि भइसकेको प्रहरीले जनाएको छ । ‘भारतमा अपराध गरेर नेपाल आउने र यहाँ अपराध गरेपछि फेरि भारत फर्कने गरेको पाइएको छ,’ एसपी तिम्सिनाले भने, ‘भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी तीव्र पारिएको छ ।’

भारतको विभिन्न राज्यमा चोरी, डकैती, हत्या, अपहरण र तस्करीजस्ता गम्भीर आपराधिक घटनामा मियाँको नाम जोडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मियाँ आइतबार राति ससुराली घर सुनसरीको हरिपुर–६ आएका थिए । 

गोलीकाण्डका शृंखला

यो गोलीकाण्ड सुनसरीमा पहिलोपटक भएको होइन। पछिल्ला केही वर्षयता जिल्लामा पटक–पटक सामान्य विवाददेखि संगठित आपराधिक योजनासम्म बन्दुकको प्रयोग हुँदै आएको छ । अधिकांश घटनाका दोषी अझैसम्म फरार छन् । बर्जु, दुहबी, इनरुवा, इटहरीदेखि सीमावर्ती क्षेत्रसम्म यस्ता हिंसात्मक घटनाहरू बारम्बार दोहोरिइरहेका छन् ।

यस्तै एक घटना गत जेठमा सुनसरीको बर्जु गाउँपालिका–४ मा भएको थियो । प्रदेश राजधानी विराटनगरसँग पूर्वी सिमाना जोडिने बर्जुमा  साँझको समयमा घर फर्कँदै गरेका एक स्थानीय व्यापारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दै हत्या प्रयास गरेको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले व्यापारीलाई लक्षित गर्दै गोली चलाएका थिए । व्यापारी गम्भीर घाइते भएका थिए भने हमलाकारीहरू भने घटनास्थलबाट फरार भएका थिए । उनीहरु पनि भारततिर फरार भएको प्रहरी अनुमान  छ । 

व्यापारीसँग विगतको लेनदेन र विवादका कारण गोली प्रहार भएको प्रहरी निष्कर्ष थियो । तर, उक्त घटनामा संलग्न कसैलाई पनि प्रहरी अहिलेसम्म पक्रन सकेको छैन । 

२०८० चैतमा सुनसरीकै दुहबी नगरपालिकामा दुई आपराधिक समूहबीच गोली हानाहान भएको थियो । पुरानो रिसइबीका कारण चुलिएको विवाद हिंसामा परिणत हुँदा दुईजना घाइते भएका थिए । केही व्यक्तिहरू पक्राउ परे पनि घटनाका मुख्य योजनाकारहरू अझै फरार छन् ।

त्यसअघि, २०८० असोजमा सुनसरी सदरमुकाम इनरुवामा स्थानीय व्यापारीलाई लक्षित गरी गोली प्रहार भएको थियो । प्रहरी अनुसन्धानले उक्त घटनामा संगठित आपराधिक गिरोहको संलग्नता पुष्टि गरेको छ । 

२०७९ साउनमा इटहरी उपमहानगरपालिका–१९ मा व्यापारीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले व्यापारीलाई लक्षित गर्दै नजिकैबाट गोली चलाएका थिए, जसका कारण व्यापारी गम्भीर घाइते भएका थिए ।

यी सबै घटनामा संलग्न अधिकांश अभियुक्त अझै फरार छन् । प्रहरीले हालसम्म कसैलाई कानुनी दायरामा ल्याउन सकेको छैन । अपराध गरेर नेपाल प्रवेश गर्ने र घटना गरेपछि फेरि सीमा पार गरेर भारततिर भाग्ने प्रवृत्तिले गर्दा प्रहरीसमक्ष चुनौती थपिएको छ । सीमापार अपराधमा संलग्न यस्ता अपराधीहरूलाई नियन्त्रण गर्न नेपाल–भारत प्रहरीबीच अझ प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।

साना हतियारको जगजगी

सुनसरी, कोशी प्रदेशको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण जिल्ला हो । भारतको बिहार राज्यसँगको खुला सीमा, प्रमुख व्यापारिक नाका र बढ्दो आवागमनका कारण यहाँ आपराधिक गतिविधिहरू तीव्र रुपमा फैलिरहेको छ । 

अवैध हतियारको सहज पहुँच, सीमापार आपराधिक गिरोहको सक्रियता र राज्य संयन्त्रको कमजोर उपस्थितिजस्ता कुराको फाइदा उठाउँदै आपराधिक समूहहरू दिनप्रतिदिन थप हिंसात्मक बन्दै गएका छन् । 

प्रहरी स्रोतका अनुसार पछिल्ला तीन वर्षमा सुनसरी जिल्लामा दर्जनभन्दा बढी गोली प्रहारका घटना भएका छन् । तर, दुर्भाग्यपूर्ण कुरा के छ भने तीमध्ये अधिकांश घटनाको गम्भीर अनुसन्धान गरिएको देखिँदैन । न त दोषी पक्राउ गर्न नै प्रहरी सफल बनेको छ । 

‘पारिवारिक विवादमा समेत बन्दुककै प्रयोग भइरहेको छ,’ प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी अधिकृत भन्छन्, ‘यो अवस्था निकै चिन्ताजनक हो ।’ 

पर्वत

Link copied successfully