खोटाङ — जन्तेढुङ्गा गाउँपालिकाले उत्पादन गरेका आलु बिक्री गर्न सुरु गरिएको छ । उक्त गाउँपालिका–४ डम्बर्खुशिवालयको भन्ज्याङखर्कमा करिब ६० रोपनीमा लगाइएको आलु उत्पादनपछि बिक्री गर्न सुरु गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार शनिबारसम्म १५ सय केजी बिक्री भएको छ । प्रतिकेजी ५५ रूपैयाँका दरले चिसापानीस्थित कोसेलीघरबाट बिक्री भइरहेको खड्काले सुनाएका छन् ।
उत्पादन भएको करिब ६ हजार केजीमध्ये आधा बिक्री गर्ने र आधा बिउ राखिने खड्काको भनाइ छ । भन्ज्याङखर्चस्थित गाउँपालिकाको नाममा रहेको ११ रोपनी र अन्य सार्वजनिक गरी ६० रोपनीमा आलु खेती गरिएको थियो ।
माघमा लगाइसक्नु पर्ने आलु फागुनको १५ गतेबाट सुरु गरिएकाले भनेजति नफलेको खड्काले बताएका छन् । ‘आलु रोप्न अलिक ढिलो भयो,’ खड्काले भने, ‘माघमा रोपिसक्नुपर्नेमा फागुन १५ गतेदेखि रोपिएकाले उत्पादन भनेजस्तो भएन ।’
आगामी वर्ष पनि आलु खेतीलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताएकी छन् । ‘आलु खेतीलाई यो वर्ष पनि निरन्तरता दिन्छौं’, राईले भनिन् । मलका लागि करिब तीन लाख खर्च गरेर दुई वटा भैँसी पनि खरिद गरिएको छ । आलु रोपिएको ठाउँमा तिते फापर रोप्ने तयारी गरिएको खड्काको भनाइ छ ।
कृषि उत्पादन, रैथाने बाली प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त खेती गरिएको गाउँपालिकाले जनाएको छ ।
