युवतीलाई सामूहिक करणी गरेको अभियोगमा ५ युवक पक्राउ

असार २९, २०८२

लक्ष्मी गौतम

5 youths were arrested on charges of gang rape of young women

पाँचथर — युवतीलाई सामूहिक करणी गरेको आरोप लागेपछि प्रहरीले पाँचजना युवकलाई पक्राउ गरी अदालतमा हाजिर गराएको छ ।

सदरमुकाम फिदिमको मेन रोडमा सञ्चालित एक होटलमा सामूहिक बास बसेका युवाहरुले आफूलाई करणी गरेको भन्दै पीडितले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ पर्नेमा ३ जना पाँचथर र २ जना झापाका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रुपेश तामाङका अनुसार पक्राउ पर्नेमा झापाका २६ वर्षीय विवश खड्का र २५ वर्षीय अंकित शर्मा तथा पाँचथरका २८ वर्षीय अनिल योङहाङ, ३० वर्षीय सञ्जय तामाङ र ३२ वर्षीय उमेश तामाङ छन् । उनीहरुलाई प्रहरीले आइतबार बिहान ४ बजे पक्राउ गरेको थियो । प्राप्त जानकारी अनुसार पक्राउ परेका ती युवा र करणीमा परेकी युवती शनिबार साँझदेखि होटलमा कोठा भाडा लिएर सामूहिक बास बसेका थिए ।

साँझ केहीबेर बजार घुम्न निस्केका उनीहरु पुनः रातको साढे १० बजे होटल प्रवेश गरेर सामूहिक बास बसेका थिए । बिहानपख युवतीले सामूहिक करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।२१ वर्षीया ती युवतीले आफू करणीमा परेको उजुरी गर्नासाथ खटिएको प्रहरी टोलीले उनीहरुलाई एउटै कोठाबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध जबरजस्ती करणी कसुरमा उजुरी दर्ता गरी पाँचथर आइतबार जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण गरी उपचार सुरु गरिएको प्रहरीको भनाइ छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully