खोटाङ — निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन पाँच वर्षपछि बल्ल सकिएको छ । ल्याब टेष्ट गर्दा गुणस्तरहीन पुष्टि भएपछि रोकिएको काम नेपाल मध्यस्थता परिषद् (नेप्का)को मध्यस्थतामा विवाद समाधान गरी निर्माणको काम सम्पन्न भएको हो ।
अघिल्लो स्थानीय सरकारको पालामा निर्माण सुरु गरिएको भवन ल्याब परीक्षण गर्दा गुणस्तरहीन बनेको पुष्टि भएपछि २०७८ जेठदेखि काम रोकिएको थियो । निर्माणमा संलग्न रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले ल्याब रिपोर्ट कीर्ते गरेर बुझाएपछि थप समस्या देखापरेपछि काम रोकिएको थियो ।
त्यसका आधारमा निर्माणमा संलग्न कम्पनीहरूलाई कालो सूचीमा राखेर ठेक्का तोडिएको थियो । निर्माण कम्पनीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहीन काम गरेको तथा भवनको ग्राउण्ड लोरको पिलरको ल्याब रिपोर्ट फेल भए पनि पास भएको रिपोर्ट बनाएर पेश गरेकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम उक्त ठेक्का तोडी कालो सूचीमा राखी धरौटी जफत गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार २०८० साउन ८ गतेसम्मका लागि २०७९ साउन ९ गतेको निर्णयले कालो सूचीमा राखिएको थियो ।
उक्त भवन प्रदेश सरकारको तीन करोड ६९ लाख ८५ हजार आठ सय ७३ रूपैयाँको लागत स्टिमेटमा २०७६ माघ २६ गते टेण्डर आव्हान गरिए पनि उक्त निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ रूपैयाँको लागतमा २०७७ माघ १९ गतेभित्र सक्ने गरी ठेक्का पारेको थियो ।
भवन गुणस्तरहीन भएको ल्याब परीक्षण रिपोर्टले देखाएपछि नेपाल मध्यस्थता परिषद् (नेप्का)को मध्यस्थतामा विवाद समाधान गरी मध्यस्थ ऐन, २०५५ को अधीनमा रहेर उक्त भवन निर्माणको काम सम्पन्न गरिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले बताएका छन् । उक्त भवन गुणस्तरहीन काम गर्ने रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले नै सम्पन्न गरेको हो ।
सुरुमा प्रदेश सरकारको बजेटमा उक्त भवन सुरु गरिए पनि निर्माण कम्पनीले गुणस्तरहीन बनाएपछि प्रदेशको बजेट फिर्ता भएपछि गाउँपालिकाले लगानी गर्नु परेको राईले सुनाएका छन् । उनका अनुसार उक्त भवनका लागि गाउँपालिकाको दुई करोड ३० लाख खर्च भएको छ ।
‘सुरुमा प्रदेश सरकारको बजेटबाट भवन निर्माण थालिएको थियो, गुणस्तर फेल भएपछि प्रदेशको बजेट फर्कियो,’ राईले भने, ‘त्यसपछि गाउँपालिकाको बजेटबाट बनाइएको हो ।’ नवनिर्मित भवन गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष राजेश राजभण्डारीले शुक्तबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् । भवन उद्घाटनपछि आफ्नै कार्यालयबाटै कार्यालयको काम सुरु गरिएको छ ।
