कन्चनजंघा पर्यटन महोत्सवमा ३० लाख घाटा

असार २८, २०८२

आनन्द गौतम

3 million loss in Kanchenjunga tourism festival

ताप्लेजुङ — गत वैशाखमा सम्पन्न कन्चनजंघा हिरक महोत्सव आयोजक समितिलाई ३० लाख रुपैयाँ घाटा भएको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत खर्च विवरण सार्वजनिक गर्दै कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष एवं हिरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले प्रदेश पर्यटन मन्त्रालयले दिने भनेको ३० लाख रुपैयाँ नदिएपछि घाटामा गएको बताए । फेम्बूले अपुग रकमका लागि दातृ संस्थालाई गुहार माग्नुपर्ने अवस्था रहेको बताए । 

फेम्बूका अनुसार महोत्सवमा १ करोड ८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । संकलन भने ७७ लाख ५० हजारमात्रै भएको उनले बताए । फेम्बूका अनुसार समुदाय परिचालन तथा सरसफाइमा ११ लाख २२ हजार, महोत्सव कार्यक्रम यातायात व्यवस्थापनमा १२ लाख ५० हजार, कदर पत्र वितरणमा ६ लाख ५ हजार रुपैयाँ खर्च भएको छ । 

यस्तै खेलकुद कार्यक्रममा १३ लाख १५ हजार, सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनीमा १६ लाख ४१ हजार, महोत्सवको प्रचार प्रसारमा ४ लाख ८९ हजार, फोटो प्रदर्शनीमा ४ लाख २० हजार, प्रचारप्रसार सामग्रीमा ५ लाख १३ हजार, स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमको प्रयोगमा ४ लाख ४४ हजार, अतिथि स्वागत सत्कारमा १३ लाख २ हजार, कार्यक्रमस्थल तयारीमा १२ लाख ८५ हजार र कार्यक्रम स्थलमा न्यूनतम पूर्वाधार विस्तारमा ४ लाख ५२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । 

आम्दानीतर्फ समृद्ध पहाड नेपालले २० लाख, इन्भेस्टमेन्ट बैंकले ४ लाख, विश्व वन्यजन्तु कोष नेपालले ५ लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषले ३ लाख, रेडपाण्डा नेटवर्कले १ लाख, क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले १० लाख, तमोर इनर्जी प्रालिले ७ लाख र रिभर साइड हाइड्रो इनर्जीले ३ लाख सहयोग गरेका छन् । 

यस्तै स्नो रिभर्स लिमिटेडले ५ लाख, हिलटन हाइड्रो इनर्जीले ३ लाख, रेमिट हाइड्रो लिमिटेडले ५ लाख, नेपाल हाइड्रो भेन्चर प्रालिले ५ लाख, युनियन हाइड्रो पावर लिमिटेडले २ लाख सहयोग गरेका छन् । सिरिजंगा गाउँपालिकाले २ लाख, पाथीभरा याङवरक गाउँपालिकाले १ लाख र फक्ताङलुङ गाउँपालिकाका - ५ तापेथोक, ६ लेलेप र ७ ओलाङचुङगोलाले ५० हजारका दरले सहयोग गरेको फेम्बूले बताए । 

सदरमुकाम फुङलिङबाट ५ घण्टाको दूरीमा रहेको लेलेपमा महोत्सव आयोजना गरिएको थियो । सदरमुकाम बाहिरको गाउँमा कार्यक्रम हुँदा, ढुवानी बढी हुने र यातायातका कारण धेरै खर्च भएको फेम्बूले बताए । 

कन्चनजंघा हिमाल आरोहणको ७० औं वर्षको अवसरमा आयोजित कार्यक्रम ताप्लेजुङको लेलेप, काठमाडौंस्थित बेलायती दूतावास र बेलायतमा समेत गरिएको थियो । देश विदेशमा भएकाले कन्चनजंघाको ब्यापक प्रचार भएको र यसले पर्यटन वृद्धिमा सहयोग पुर्‍याउने कन्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully