कोशी सरकारले चालु वर्षमा ७७ प्रतिशत बजेट खर्च गर्‍यो, भौतिक पूर्वाधारमै बढी खर्च

असार २६, २०८२

पर्वत पाेर्तेल

The Koshi government spent 77 percent of the budget in the current year, spending more on physical infrastructure

विराटनगर — कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल बजेटमध्ये ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ। बजेट कार्यान्वयनमा तुलनात्मक रूपमा उत्साहजनक प्रगति देखिए पनि खर्चको प्राथमिकता भौतिक पूर्वाधारमा केन्द्रित भएको देखिएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँमध्ये बुधबार मध्यरातिसम्म २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ७७ दशमलव २६ प्रतिशत हो।

खर्चको बाँडफाँट हेर्दा पुँजीगत खर्चतर्फ ७९ दशमलव २६ प्रतिशत अर्थात् १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ भने चालू खर्चतर्फ ७५ दशमलव २९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ।

भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता

बजेट खर्चका क्षेत्रीय विवरणले प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा बढी ध्यान दिएको स्पष्ट देखिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र ११ अर्ब १९ करोडमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ, जुन मन्त्रालयगत हिसाबले सबैभन्दा बढी हो।

त्यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ, जसले पूर्वाधार क्षेत्रमा सरकारको प्राथमिकता पुष्टि गर्छ।

प्रदेशले स्थानीय तहलाई विनियोजन गरेको ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ, जुन ९६ प्रतिशत नजिक पुग्छ।

विकास निर्माणलाई प्राथमिकता दिइएको देखिए पनि खर्च कार्यान्वयनमा अझै पारदर्शिता र प्रभावकारिता आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

पर्वत पाेर्तेल

Link copied successfully