झापा — बाह्रदशीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना सख्त घाइते भएका छन् ।
आज करिब साढे तीन बजेको समयमा बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा बी आर ३७ ए जेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–०१६ प ९२७० स्कुटर एक आपसमा जुध्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक (पहिचान खुल्न बाँकी)लाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर, उपचारको क्रममा दुवैको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
स्कुटरमा सवार राजवंशीकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उनका ३ वर्षीय छोरा आयुष राजवंशी सख्त घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि बि.एण्ड.सी अस्पताल बिर्तामोड पठाइएको जनाइएको छ । घाइते दुवैको अवस्था गम्भीर छ ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ ।
