धनकुटा — अठासी वर्षीया लक्ष्मीदेवी श्रेष्ठका आँखा रसाइरहेका थिए । बुधबार बिहान उनले भित्तामा राखिएको सहिद भीमनारायण श्रेष्ठको श्यामश्वेत तस्बिरमा माल्यार्पण गर्दै नजानिँदो गरी आँसु खसालिन् । सहिद भीमनारायणको जन्मजयन्ती मनाइरहँदा उनकी श्रीमती लक्ष्मीदेवीका आँखा यसरी रसाएका हुन् ।
घरबाट नजिकै श्रेष्ठको अर्धकदको सालिक पनि छ । आँगनबाट धनकुटा नगरपालिका–६ भीमनारायण चोकमा रहेको सालिकलाई नियालिन् र दुई हात जोडेर स्मरण गरिन् । जीवितै रहेका भए भीमनारायण पनि लक्ष्मीकै उमेरसमान ८८ वर्षका हुन्थे ।
विक्रम सम्वत् १९९४ असार २४ गते जन्म भएका भीमनारायणलाई ४१ वर्षको उमेरमा मृत्युदण्ड दिइएको थियो । केन्द्रीय कारागारमा वि.सं.२०३५ माघ २४ गते मध्यरातमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका साथै त्यहाँ रहेका वामपन्थी नेता मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली लगायतसँग हात मिलाएर सुरक्षाकर्मीको घेरामा उनी बाहिरिएका थिए । त्यसको दुई दिनपछि उनलाई कोसी टप्पुको जंगलमा गोली हानी मृत्युदण्ड दिइएको हो ।
२०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा बम प्रहार गरेको अभियोगमा श्रेष्ठलाई घाइते अवस्थामा पक्राउ गरिएको थियो । कठोर जेल यातनापछि २०३५ माघ २६ गते मृत्युदण्ड दिइएको हो ।
राणाकालीन व्यवस्थाको विरोधमा मृत्युदण्ड दिइएका चार सहिदपछि राज्यपक्षबाट मृत्युदण्ड दिइएकामा श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापा रहेको मानिन्छ । ‘जीवन रहे भेट हुन्छ, मिलेर संघर्ष गरिन्छ, नरहे हाम्रो भेट यत्ति हो, बाँचेकाले क्रान्ति गर्नू, मेरो यही खबर सुनाइदिनू,’ तत्कालीन पञ्चायत शासन व्यवस्था विरुद्ध आन्दोलनरत क्रान्तिमा रहेका सहकर्मीलाई यही सन्देशबाट बिदाइ मागेका श्रेष्ठ अन्ततः जीवित रहेनन् ।
श्रेष्ठको ८८ औं जन्मजयन्तीको अवसरमा बुधबार श्रद्धाञ्जली सभासमेत गरिएको छ । यस क्रममा सहिद–पत्नी लक्ष्मी र जेष्ठ पुत्र मनोजनारायण श्रेष्ठलाई सम्मान पनि गरिएको छ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा भीमनारायण चोकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । उक्त कार्यक्रममा संविधानसभा सदस्य लीला सुब्बा, कांग्रेस प्रदेश सदस्य नवीनकिशोर शाक्य, कांग्रेस धनकुटा जिल्ला सचिव विजयसन्तोषी राई, नेतृ सुमना तिम्सिना लगायत परिवारका सदस्यले विचार राखेका थिए ।
सहिद श्रेष्ठका छोरा मनोजनारायणका अनुसार मृत्युदण्ड दिइएको स्थानबाट नजिकै सप्तकोसी नदी किनारमा लाश राखिएको थियो । श्रेष्ठका भाइ वीरेन्द्रनारायणलाई लाश बुझ्न लगाइएको थियो । ‘जबरजस्ती दागबत्ती दिन कर लगाइयो,’ भाइ वीरेन्द्रले भने, ‘बाबुआमा भएका व्यक्तिले दागबत्ती दिन नमिल्ने भन्दै निकै बेर भनाभनसमेत भयो । पछि सेनाका एक ब्राह्मणले दागबत्ती दिए ।’ श्रेष्ठलाई २०७२ फागुन १९ गते सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो । बम विस्फोट घटनामा गम्भीर घाइते भएका रामकृष्ण श्रेष्ठको सोही भने समयमा मृत्यु भएको थियो ।
