ताप्लेजुङ — मंगलबार बेलुकादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्ड बुधबार बिहान ९ बजेदेखि खुलेको छ । सडक डिभिजन कार्यालय इलामका फिदिम क्षेत्र हेर्ने सुपरभाइजर डम्बर मिश्रका अनुसार ठूला साना सबै सवारीसाधन चल्नेगरी डाइभर्सन मर्मत गरेर सवारी सञ्चालनमा ल्याइएको हो ।
बाढीका कारण मंगलबार काम गर्न नसकिएपछि बुधबार बिहान ४ बजेदेखि नै मर्मत कार्य गरेर यातायात सञ्चालनमा ल्याइएको मिश्रले बताए । बिहानदेखि हेवाखोलामा पानीको बहाव घटेको छ । ठूलो बाढी आएमा यस खोलाको माथिल्लो भागमा रहेका हाइड्रोपावरहरूले पूरै पानी खोलातिरै लगाइदिने र बाढी कम भएपछि पुनः हाइड्रोपावरतिर फर्काउने भएकाले खोलोमा पानी बढ्ने घट्ने भइरहने गरेको छ । हाइड्रोपावरले पानी फर्काएपछि बुधबार बिहानदेखि खोला घटेको हो ।
यहाँ पेनस्टक पाइप राख्ने तयारी पनि भइरहेको छ । हाइड्रोपावरको सहयोगमा चारवटा पेनस्टक पाइप राख्ने तयारी भएको हो । यसका लागि तारजाली लगाउने संरचना बनाउने काम मंगलबारदेखि सुरु गरिएको थियो । तर, बाढीले ती सबै संरचना भत्काएको मिश्रले बताए । बेलिब्रिज निर्माण अनिश्चित भएपछि नियमित सवारी सञ्चालनका लागि यहाँ पेनस्टक राख्ने तयारी गरिएको हो । वर्षा कम भई खोलामा बाढी नआए एक सातामा पेनस्टक राखिसक्ने योजना रहेको मिश्रले बताए । पेनस्टक राखेपछि डाइभर्सनमा राखिएको ह्युम पाइप हटाउने तयारी गरिएको छ ।
भारतीय कम्पनीले सामग्री नपठाएका कारण बेलिब्रिज निर्माणको काम अलपत्र परेको छ । सडक डिभिजन कार्यालयले चाँडै निर्माणका लागि सामग्री ल्याउने प्रयास भइरहेको जनाएको छ । यो पुलले ताप्लेजुङ जिल्लामा प्रत्यक्ष असर पार्ने गरेको छ ।
