सोलुखुम्बु — भारी वर्षासँगै सिखुखोलामा आएको बाढीले मोटरसाइकलसहित बगाउँदा एक जनाको मृत्यु भएको छ ।
थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर १ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बगाउँदा मोटरसाइकलमा सवार थुलुङ दुधकोशी गाउँपालिका ८ रणेमका मिङ्मार तामाङको मृत्यु भएको हो ।
हिजो साँझ नेलेमा रहेको मोबाइल पसलबाट घर फर्किँदै गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ वर्षीय तामाङको मृत्यू भएको हो । हिजो साँझदेखि हराइरहेका तामाङको शव बिहान सडक भन्दा १ किलोमिटर तल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुवँरले जानकारी दिए ।
बा ९४ प ३०९९ नम्बरको आफ्नै मोटरसाइकलमा चढेर हिँडेका तामाङको मोटर साइकल ५ सय मिटर तल फेला परेको र उनको शव १ किलोमिटर तल पुरिएको अवस्थामा निकालिएको डिएसपी कुवँरले बताए । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइहेको प्रहरीको भनाइ छ ।
