उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको भाँच्चिएको पुलमुनि एक युवा मृत फेला परेका छन् ।सोमबार त्रियुगा खोलामा नुहाउन गएका चौदण्डीगढी नगरपालिका–६ कालीखोलाका ३० वर्षीय सुरज राई मंगलबार मृत फेला परेका हुन् ।
साथीहरूसँग त्रियुगा नदीमा नुहाउन गएका राई नदीमा डुबेर बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली र स्थानीयको सक्रियतामा खोजी गर्दा नदीको स्ल्याबमुनि डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।
भााँच्चीएको पुलको स्ल्याबमुनि भूमरी परेर ठूलो खाल्डोजस्तो देखिने स्थानमा शव भेटिएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले बताएको छ । डुबेर युवक बेपत्ता भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरीको टोली परिचालन भई सोमबारदेखि नै खोजतलास तीव्र बनाएको थियो ।
