बाढीले हेवा खोलाको डाइभर्सनमा क्षति, मेची राजमार्ग अवरुद्ध

असार २४, २०८२

लक्ष्मी गौतम

Flood damages Hewa river diversion, blocks Mechi highway

पाँचथर — मंगलबार अपराह्नदेखिको अविरल वर्षासँगै आएको बाढीले मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुगेपछि मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्ड अवरुद्व भएको छ ।

पानीको सतहले डाइभर्सन पार गरे माथिल्लो भागको ढुङ्गा, बालुवा बगाएसँगै राजमार्ग अवरुद्व भएको हो ।

पाँचथर सदरमुकाम फिदिमसहित तल्लो तटीय क्षेत्रमा करिब एकसातादेखि खडेरी लागिरहेको थियो । यसैबीच मंगलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा अविरल वर्षा भएपछि खोलामा बाढी आएको हो ।

डाइभर्सनमा क्षति पुगेसँगै साँझ साढे छ बजेदेखि मेची राजमार्गको पाँचथर ताप्लेजुङ खण्डमा सवारी आवागमन ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले हेवा खोला डाइभर्सनमा क्षति पुगेसँगै यस क्षेत्रमा यात्रा गर्नुपूर्व बाटोको अवस्थाबारे जानकारी लिन यात्री र सवारी चालकलाई सूचित गरिएको बताए ।

आजै साँझदेखि हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फका लागि गुडेका सवारी साधन बाटैमा अलपत्र परेका छन् । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully