संखुवासभा — भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ मा शनिबार राति हत्या गरिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
जिल्ला अस्पताल भोजपुरमा प्राविधिक कारणले समस्या भएपछि उनीहरुको शव पोस्टमार्टमका लागि धरान पठाएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उनीहरुको सोमबार पोस्टमार्टम हुनेछ ।
घटनास्थल सदरमुकाम भोजपुरबाट करिब ३२ किलोमिटर टाढा पर्छ । हत्यामा संलग्न राजेन्द्र राईलाई घाइते अवस्थामा भेटिएपछि उनको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
प्रहरीका अनुसार राजेन्द्रले ससुरा ६८ वर्षीय बेलबहादुर गिरि, सासू ४५ वर्षीया मञ्जु, श्रीमती १६ वर्षीया मनिषा र ९ वर्षीय सालो सपनको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । हत्यापछि प्रहरीलाई फोन गरेर उनी आफैले जानकारी गराएका थिए ।
राजेन्द्रले भने सासूले छुरा देखाएर आक्रमण गरेपछि खोसेर सबैलाई प्रहार गरी हत्या गरेको बताउँदै आएका छन् ।
