दुबईबाट फर्किएर ड्रागन फ्रुट खेती, लाखौं आम्दानी

असार २३, २०८२

डम्बरसिं राई

Back from Dubai Farming Dragon Fruit, Earning Millions

काठमाडौँ — रावाबेसी गाउँपालिका–६ हौचुरका सरोज राईले ड्रागन फ्रुट खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । करिब १८ रोपनीमा लगाएको ड्राग्रन फ्रुटले गत वर्षदेखि आम्दानी दिन थालेको हो ।

गत वर्ष प्रतिकिलो चार सय रूपैयाँले दुई हजार किलो बेच्दा ८ लाख आम्दानी गरेको उनले बताए । यो वर्ष तीन हजार किलोभन्दा बढी फल बिक्री हुने राईको भनाइ छ । 'अहिलेसम्म एक हजार ५० किलो बिक्री भइसकेको छ,' उनले भने, 'अझै दुई हजार किलोजति होला ।'

राईले २०७९ सालबाट व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका हुन् । तीन वर्ष दुबईमा रोजगारी गरी फर्किएपछि गाउँमै कृषि व्यवसाय गरेर बस्ने चेतना जागेको राईले बताए । त्यसपछि घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘हिमालयन एग्रो फार्म’ दर्ता गरी व्यवसायिक खेती सुरु गरेका हुन् । 

बङ्गुर र बाख्रा पालन व्यवसायले बजार नपाएपछि यो खेती सुरु गरेको उनको भनाइ छ । 'भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुट खेती गर्ने प्रविधिको बारेमा तालिम लिएँ । त्यहाँबाट दुई सय ५० वटा ड्रागनफ्रुटको बिरुवा ल्याएर खेती सुरु गरेको हो,’ राईले भने, ‘अहिले दुई हजार सात सय बोट ड्रागन फ्रुट फल्न थालेको छ ।’ 

प्रतिबोट करिब २५ केजीसम्म फल उत्पादन हुने उनले बताए । एउटा बोटबाट वर्षमा आठचोटिसम्म फल टिप्न सकिन्छ । ड्रागन फ्रुट खोज्दै घरमै ग्राहक आउने भएकाले बजारको समेत समस्या छैन ।

ड्रागन फ्रुट खेतीमा करिब १८ लाखजति खर्च भएको राईले सुनाए । यसमध्ये पिलर निर्माण तथा टायर खरिद लगायतका लागि रावाबेसी गाउँपालिकाले गत वर्ष दुई लाख अनुदान उपलब्ध गराएको थियो । इको हिमाल नेपालले पनि गत वर्ष चार सय बिरुवा र यस वर्ष पनि एक हजार बिरुवा उपलब्ध गराएको छ । 

राईले १८ रोपनी जग्गामा ड्रागन फ्रुट लगाएका छन् भने २२ रोपनीमा आँप, म्याकेडेमिया नट्स, कागतीलगायत फलफूल खेती गरेका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully