तीन पालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा देखियो लम्पी स्किन संक्रमण

असार २२, २०८२

आनन्द गौतम

Lumpy skin infection was seen in all the local levels of Taplejung except for three municipalities

ताप्लेजुङ — मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो ।

प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षणअनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा संक्रमण पुष्टि भएको छ । फुङलिङ नगरपालिकाका ७ वटा पशुचौपायामा संक्रमण देखिएको छ । संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायालाई खोप लगाइसकिएको छ ।

एउटा भाइलमा २५ डोज खोप हुने र एकदेखि डेढ घण्टाको समयमा लगाइसक्नुपर्ने भएकाले त्यही सङ्ख्यामा पशुचौपाया तयारी बनाएर खोप लगाउने गरिएको कार्यालयले जनाएको छ । खोप पर्याप्त मात्रामा नभएकाले गोठलाई सफा सुग्घर राख्ने, किरा भुसुनाले नटोकोस् भन्नका लागि धुप बालिदिने गरे संक्रमणवाट पशुचौपाया जोगाउन सकिने सुझाव पशु कार्यालयको छ ।

गत वर्ष यो संक्रमणका कारण जिल्लाका हिमाली क्षेत्रमा चौंरी र याक ठूलो अवस्थामा मरेका थिए । यसैवर्ष ठूला गोठहरुमा खोप लगाइएकाले बढी क्षति हुने अवस्था नभएको दाहालले दाबी गरे ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully