हेवाखोलामा बेलिब्रिजको सामान आउने टुंगो नभएपछि पेनस्टक पाइप राखिँदै

असार २१, २०८२

आनन्द गौतम

The penstock pipe is being laid after the arrival of Belybridge goods in Hewakhola is not finalized

ताप्लेजुङ — वर्षा र बाढी बढ्नेबित्तिकै ताप्लेजुङ, पाँचथरको याङवरक, हिलिहाङ र फालेलुङका बासिन्दालाई हेवाखोला डाइभर्सनको चिन्ता हुन्छ । यहाँको डाइभर्सन बग्नेबित्तिकै यातायात ठप्प हुन्छ ।

ढुवानीका साधनको त विकल्पै हुँदैन । ठूलो वर्षा हुनासाथ यी क्षेत्रका नागरिकको पहिलो चासो र चिन्ता यही खोला हुने गरेको छ । बेलिब्रिज निर्माणको अन्तिम चरणमा पुगेर भत्किएपछि भौतिक मन्त्रालयले छानबिन समिति बनाएको थियो । समितिको अध्ययनपछि यही ठाउँमा बेलिब्रिज बनाउने निर्णयमा सरकार पुगेको छ ।

सडक डिभिजन कार्यालय इलामका यही क्षेत्रका सुपरभाइजर डम्बर मिश्रका अनुसार बेलिब्रिजको सामान खोल्ने काम सकिएको छ । सामान आउने विषय भने अनिश्चित छ । बिग्रिएको सामान भारतको कम्पनीले दिनुपर्छ । भारतीय कम्पनीले कहिले सामान दिन्छ ठेकदार कम्पनी निश्चित छैनन् । बाढी आए हेवाखोलाको डाइभर्सन जतिबेला बग्ने र बगाउने भएकाले हाइड्रोपावर कम्पनीसँगको समन्वयमा पेनस्टक पाइप ठूलाखाले फलामे पाइप राख्ने तयारी भएको छ । चारवटा ठूला पाइपराखे यहा आउने पानी त्यसको भित्रबाटै जाने बुझाइ प्राविधिकको छ । एक प्राविधिकले भने, 'चारवटा ठूला पेनस्टक राख्ने र त्यसलाई बग्न नदिन एकअर्काबीचको वेल्डिङ गर्ने तयारी भएको छ ।'

दुईवटा पेनस्टक पाइप हेवाखोलामा झारिसकिएको र थप दुईवटा झार्ने तयारी छ । ताप्लेजुङ र पाँचथरमा बन्दै गरेका हाइड्रोपावर कम्पनीले एकएक वटाका दरले उपलब्ध गराएको आफूले सुनेको तर यकिनचाहिँ नभएको मिश्र बताउँछन् । बेलिब्रिजको सामान आइपुगे जडानका लागि भने धेरै समय लाग्दैन । १५ दिनसम्ममा जडानको काम सकिन्छ । यसअघि पनि १३ दिनमा जडान अन्तिम चरणमा पुगेको थियो । तर त्यहीबेला भत्कियो ।

पेनस्टक पाइप राखेपछि बाढीले ठूल्ठूला रुख नै बगाएर ल्याए मात्रै क्षति पुग्ने रेमिट हाइड्रोका इन्जिनियर मुकुन्द पोख्रेल बताउँछन् । मुढाहरू आएर तेर्सिएर बसे भने बेलिब्रिजजस्तै बगाउने जोखिम हुन्छ । अन्यथा ससानो बाढी बिगार्दा मर्मत गर्दै यातायात चलाउन सक्ने सम्भावना हुन्छ ।

असार मसान्तमा सक्ने गरी दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभिले बेलिब्रिजको ठेक्का लिएको थियो । जडानको अन्तिम चरणमा पुल भाँचिदा तीन जना मजदुरको मृत्यु भयो भने तीन जना घाइते भए । ७० मिटर लामो तथा ४ दशमलव २५ मिटर चौडाइ भएको ब्रिजको काम ८० प्रतिशत सकिएको थियो । भाँचिएपछि २० प्रतिशत सामाग्री बिग्रियो ।

भारतको मोडुल ब्रिज उत्पादक गार्डेन रीच सिपबिल्डर्स एन्ड इन्जिनियर्स लिमिटेड बेलिब्रिजमा प्रयोग हुने सामाग्री उपलब्ध गराएको थियो । नेपालमा ५० मिटरसम्मका बेलिब्रिजमात्र जडान हुने गरेकामा यो ७० मिटरको बन्दै थियो यसको नियमन भारतकै इन्जिनियर तथा प्राविधिकले गर्दै आएका थिए । २०८० सालमा यहाँको पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । २०८१ असोजमा बेलिब्रिज पनि बगाएपछि लामो मोडुलर ब्रिज जडानको क्रममा रहेको थियो ।  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully