पहिरोले घर पुरिँदा भित्र फसेका ३ जनाको सकुशल उद्धार

असार १८, २०८२

आनन्द गौतम

Safe rescue of 3 people who were trapped inside when the landslide destroyed the house

ताप्लेजुङ — कुलोको पानी थुनिएर पहिरो जाँदा भत्किएको घरभित्र थुनिएका तीन जनालाई गाउँलेहरूले सकुशल उद्धार गरेका छन् । सिदिङ्वा गाउँपालिका–३ आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल घरभित्र थुनिएका थिए ।

हस्तबहादुरका अनुसार बुधबार बिहान (राति) १ बजे घरमाथिको कान्लो भत्किएर घर पुरिएको थियो । घर भत्किएको आवाजले मटानमा सुतेका छोराबुहारी ब्युँझिएका थिए । उनीहरूले गाउँमा होहल्ला गरेपछि गाउँलेहरू भेला भई तीनैजनालाई राति नै बाहिर निकालेका हुन् ।

भत्किएको घरको दलिन र ढुङ्गाले लागेर ठगमाया घाइते भएकी छन् ।  उनको थप उपचारका लागि गाउँबाट बाहिर लैजाने तयारी भइरहेको हस्तबहादुरले बताए । हस्तबहादुर र छोरी सम्झनालाई भने सामान्य चोटपटक लागेको छ । बुधबार बिहान सिदिङ्वा गाउँपालिका केन्द्र साव्लाखु भञ्ज्याङबाट आएका स्वास्थ्यकर्मीले ठगमायाको उपचार गरिरहेका छन् ।

छिमेकी मौसम लिम्बूका अनुसार पहिरोले पुरिएको घरमा श्रीमान्-श्रीमती बस्ने र खाना पकाउने गर्थे भने मतानमा छोराबुहारी बस्ने गर्थे । बस्नका लागि समस्या नभए पनि खाने सरसामान भने केही पनि बाँकी नरहेको मौसमले बताए ।

खाद्यान्नदेखि भाँडा–वर्तन लगायतका सामग्री केही पनि नरहेको उनले बताए ।  ताप्लेजुङमा तीन दिनयता ठूलो वर्षा भएको छैन । तर, यस वर्षको वर्षायाम सुरु भएयता पहिरोले क्षति पुर्‍याएको यो पहिलो घटना हो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully