जिल्ला समन्वय समिति पाँचथरको नवौं सभामा आधाभन्दा धेरै जनप्रतिनिधि अनुपस्थित

असार १८, २०८२

लक्ष्मी गौतम

More than half of the people's representatives were absent in the ninth meeting of District Coordination Committee Panchthar

पाँचथर — जिल्ला समन्वय समिति पाँचथरको नवौं जिल्ला सभामा आधाभन्दा धेरै जनप्रतिनिधि अनुपस्थित भएका छन् ।

जिल्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तह छन् । जिल्ला सभामा स्थानीय तहबाट निर्वाचित मेयर उप तथा अध्यक्ष र उपाध्यक्ष गरी १६ जना जनप्रतिनिधि उपस्थित हुन पर्नेमा ७ जनाको मात्रै सहभागिता थियो ।

सभामा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण न्यौपाने दुवै जना उपस्थित थिए । गाउँपालिका तर्फ भने हिलिहाङबाट मात्रै अध्यक्ष र उपाध्यक्ष दुवै जनाले सहभागिता जनाए ।

यस्तै याङवरक,फाल्गुनन्द र कुम्मायक गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष दुवैको सहभागिता थिएन ।

फालेलुङका उपाध्यक्ष महेन्द्रहाङ जवेगू,,तुम्वेवाका खड्गबहादुर सम्बाहाम्फे,मिक्लाजुङका सन्तकुमार सेर्मा र हिलिहाङका सुमित्रा उप्रेती सेढाई सभामा सहभागी थिए ।

जिल्ला सभामा गाउँ नगरका प्रमुख र उप प्रमुख १६ र जिल्ला समन्वय समितिका ९ गरी २५ जना सदस्य सभासद् रहने प्रावधान छ ।

जिल्ला समन्वय समितिबाट प्रमुख र उप प्रमुख सहित ९ जनै सदस्य सहभागी थिए ।

कार्यक्रमका वक्ताहरूले जिल्ला सभामा जनप्रतिनिधिको उपस्थितका विषयमा प्रश्न गरेका छन् ।

कुम्मायक गाउँपालिका अध्यक्ष बम लावती उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छन् । यस्तै फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे र फालेलुङका अध्यक्ष वीरविक्रम थाम्सुहाङ पनि स्वास्थ्य प्रतिकूलताका कारण सभामा सहभागी हुन नसकेको बताइएको छ । सहभागी नभएका गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले असार यामको कार्य व्यस्तताका कारण समय व्यवस्थापन गर्न नसकेको जनाएका छन् ।

सहभागी अध्यक्ष उपाध्यक्षहरूले पनि मध्य असारमा जिल्ला सभा गर्दा समय व्यवस्थापन गर्न कठिन भएको टिप्पणी गरेका छन् ।

‘तीन तहका सरकार मध्ये संघीय सरकारले जेठ १५ प्रदेशले १ असार र स्थानीय तहले १० असार भित्र नीति कार्यक्रम र बजेट पास गरिसक्नु पर्ने प्रावधान छ ,यो जिल्ला सभा असार १० अघि गर्नु सान्दर्भिक हुन्थ्यो,जबकि जिल्ला सभाले पारित गरेका नीति कार्यक्रम अनुसार स्थानीय सरकारलाई कार्य योजना बनाउन मदत पुगोस् ।’ कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद इन्द्रबहादुर आङबोले भने । ‘यद्यपि जिल्ला सभामा सभासद् रहेका जनप्रतिनिधि उपस्थित हुन नसक्नु दुखको कुरा हो ।’ उनले थपे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा जिसस पाँचथरका निर्वतमान प्रमुख विमल सापकोटाले जनप्रतिनिधिले जिल्ला सभा र विपद् व्यवस्थापन समितिको बैठकमा सक्रिय सहभागी हुनुपर्ने धारणा राखे ।

फिदिम पहिलो, मिक्लाजुङ अन्तिम

जिल्ला समन्वय समिति पाँचथरले जिल्ला सभाको अवसर पारेर वित्तीय सुशासन जोखिम मूल्याङ्कनका आधारमा उत्कृष्ट ठहरिएको फिदिम नगरपालिकालाई कदर पत्र सहित सम्मान गरेको छ ।

नगरपालिका संघीय सरकारको मापदण्ड अनुसार वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८० अंकसहित जिल्लामा पहिलो भएको हो ।

गाउँपालिका तर्फ फाल्गुनन्द र फालेलुङले समान ७९ अंक प्राप्त गर्दै उत्कृष्ट हुँदा मिक्लाजुङ ६४ अंकसहित अन्तिम स्थानमा परेको छ । गाउँपालिकाहरूलाई पनि प्राप्ताङ्क सहितको कदर पत्रले सम्मान गरिएको थियो ।

जिल्ला सभामा कांग्रेस सभापति रूपनारायण जवेगू,जनमुक्ती पार्टीका केन्द्रीय सदस्य अर्जुनदेव स्याङवो,नेकपा मालेका केन्द्रीय सदस्य लयप्रसाद बाँस्कोटा,राप्रपा जिल्ला अध्यक्ष कमल चेम्जोङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र अधिकारी,भूमि आयोग पाँचथरका अध्यक्ष बमप्रसाद फियाक,पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल,प्रदेश सांसदद्वय प्रेमराज थाम्सुहाङ र कमलप्रसाद जवेगू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully