संखुवासभा — खाँदबारी नगरपालिका-३ मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल उद्घाटन गरिएको छ । एक स्थानीय तह, एक अस्पतालको अवधारणाअनुसार पांमा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरेर बुधबार नगर अस्पताल घोषणा गरिएको हो ।
३ करोड ७३ लाख ५१ हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबीच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गरेका हुन् ।
नगर अस्पतालमा साउनदेखि मेडिकल अधिकृत सहितको चिकित्सक राखेर सेवा दिने नगरप्रमुख थपलियाले बताए । उनले अस्पताल संचालनका लागि खर्चको व्यवस्थापन गर्ने बताए । नगर अस्पतालमा विशेषगरी खाँदबारीका ७, ३, ४, ५, ६, १० र ११ नम्बर वडाका बिरामीलाई उपचार गर्न सजिलो हुनेछ ।
पूर्वस्वास्थ्यमन्त्री तथा संखुवासभाका प्रदेश सांसद राजेन्द्र कार्कीले अस्पतालका लागि चाहिने सामग्रीका लागि सहयोग गर्ने बताए । विशेषज्ञ स्वास्थ्य सेवा सबै तहका नागरिकले पाउनु पर्ने उनले बताए ।
निरन्तर सेवा दिन सामग्रीदेखि कर्मचारीको व्यवस्थापनसम्मका लागि प्रदेश सरकारमा माग गर्ने उनले बताए ।
