धुपुमा एक घर, एकधारा

असार १६, २०८२

दीपेन्द्र शाक्य

A house in Dhupu, Ekdhara

संखुवासभा — पाँच वर्ष अघिसम्म धुपुकी ६० वर्षीया मञ्जु शर्मा खानेपानी लिन झिसमिसेमा आधाघन्टा तल रहेको कुवामा पानी भर्नु जान्थिन्। खानेपानी लिएर आउँदासम्म बिहानको ७ बजिसकेको हुन्थ्यो। पानीको जोहोका लागि दैनिक २ घण्टा बढी समय छुट्याउनुपर्ने अवस्था थियो। तर, अहिले उनको दैनिकी फेरिएको छ।

घरको आँगनमै धारा बनेको छ। जहाँ दैनिक ५ घण्टा पानी आउँछ। 

'केही वर्ष यता धुपूमा खानेपानी सहज उपलब्ध भएपछि यो समस्या हटेको छ,' शर्माले भनिन्, 'कुँवामा लाइन लागेर पानी बोकेर ल्याएको अब झझल्कोमात्रै रह्यो।' गाउँमा भएको एउटा कुवाबाट ६० परिवारले खानेपानी प्रयोग गर्दा धेरै समस्या हुँदै आएको अर्का स्थानीय केदार अधिकारीले बताए। उनी अहिले ६६ वर्षका भए लामो समयपछि घरैमा धारा आएपनि बढ्यौली उमेरमा अधिकारी पनि खुसी छन्। उनको पनि अहिले घरको आँगनमै धारा जडान भएको छ ।

'एक समय पानीको थोपा थाप्न बिहानै उठ्ने धुपुका बासिन्दा, आजभोलि आँगनमै पानीका फोहोरासँग खेलिरहेका छन्,' उनले भने, 'एकघर एक धारा भौतिक पूर्वाधार होइन, यो गाउँको आत्मसम्मान र परिवर्तनको पाइला हो, यसका लागि रेडक्रसलाई धन्यबाद दिन्छु।' नेपाल रेडक्रस सोसाइटीको एक घर एक धारा परियोजनाले उनीहरुको दैनिकी फेरिएको हो ।

'पानीकै लागि एक घण्टा ओरालो र दुई घण्टा उकालो हिँड्नुपर्ने अवस्था थियो,' अधिकारीले भने, 'एक घैटो पानीका लागि महिलाको दिनचर्या पानी ल्याउँदै बित्थ्यो । स्कुले बालबालिका पनि कहिलेकाहीं पानीकै अभावमा ढिला पुग्थे। अब त बिहानै उठेर आँगनमै धारा खोलेर पानी लिन सकिन्छ। जीवनमै यस्तो राहत मिल्ला भन्ने भन्ने लाग्दैनथ्यो।'

रेडक्रसले यो परियोजना सञ्चालन गर्दा स्थानीय सरकारसँग सहकार्य, समुदायको स्वामित्व र स्थानीय जनश्रमलाई प्राथमिकता दिएको सभापति सरोज बज्राचार्यले बताए । 'हरेक घरमा धारा पुर्‍याउने उद्देश्यले स्रोत व्यवस्थापनदेखि पाइपलाइन जडान, ट्यांकी निर्माणसम्मको जिम्मेवारीमा समुदायले पनि सक्रियता देखाएको छ,' उनले भने, 'यो योजना गाउँको शुद्ध खानेपानी समस्याको दिगो समाधान बन्न पुगेको छ। अब हामी स्वच्छता र सरसफाइका कार्यक्रम पनि सँगै अघि बढाएका छौँ।'

रेडक्रसले स्थानीय सरकारसँगको सहकार्यमा खानेपानी सरसफाई स्वच्छता प्रवर्दन एवम् विपद् जोखिम न्यूनीकरण परियोजना सञ्चालन गरेको छ। स्वच्छता, स्वास्थ्य र जीवनस्तर उकास्ने उद्देश्यका साथ अगाडि बढाइएको यो कार्यक्रमबाट करिब ७ सय २८ घरधुरीले प्रत्यक्ष लाभ लिने उनले बताए ।

अहिले ४ सय स्थानीयको घरमा धारा निर्माण पछि सञ्चालनमा आइसकेको छ । धुपुका विभिन्न स्थानका ३ वटा मुहानमा ट्यांकी निर्माण गरेर स्थानीयको घरघरमा धारा पुर्‍याइएको छ । उनीहरुले पानी प्रयोग गरेबापत महिनाको ५० रुपैयाँ तिरे पुग्छ । संकलित रकमले पानी खोल्ने र मर्मत गर्ने कर्मचारी व्यवस्थापन गरिएको छ ।

६ वटा विद्यालयमा ट्यांकीसहित ७ सय २६ धारा निर्माणका लागि ३ करोड ८२ लाख ३५ हजार खर्च हुने रेडक्रसले जनाएको छ । रेडक्रसको ५० प्रतिशत, सभापोखरी गाउँपालिकाको ३० र समुदायको २० प्रतिशतको लागत साझेदारीमा आयोजना संचालन गरिएको हो । लामो समय पानीकै अभावमा समस्या भोग्दै आएका स्थानीयले अब भने घर आागनमै धारा पाएपछि राहत महशुस गरेका छन्।

'धारामा पानी मात्रै आउँदैन, यसले स्वास्थ्य, समय, स्वच्छता र अवसर पनि बोकेको हुन्छ,' धुपूकी सुनिता राईले भनिन्, 'खासगरी महिलाहरूको दैनिक श्रम घटेको छ, बालबालिकाहरू नियमित रूपमा विद्यालय जान थालेका छन्।'

धारासँगै सरसफाई पनि बढेपछि पहिलेजस्तो झाडापखाला, टाइफाइड, पानीजन्य रोगहरू पनि घटेको स्थानीयले अनुभव गरेका छन् । यो परियोजना सस्तो, सरल र दिगो भएकाले अन्य वडामा पनि विस्तार गरिने तयारी रेडक्रसले गरेको छ । पाईप जडान, पम्बिङ लगायतका सीप स्थानीय युवालाई दिएर मर्मत सम्भार गर्न सिकाइएको रेडक्रस सभापति बज्राचार्यको भनाइ छ । 

दीपेन्द्र

Link copied successfully