पाँचथर — जोड्दाजोड्दै भाँचिएको मेची राजमार्गस्थित हेवा खोलाको बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।जेठ ३१ गते साँझ जडानकै क्रममा यहाँ निर्माणाधीन बेलिब्रिज भाँचिएको थियो ।
पुल भाँच्चिदा ३ जनाले ज्यान गुमाउनका साथै ३ जना घाइते भएका थिए ।
मेची राजमार्गको पाँचथर खण्डमा पर्ने हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो ।
त्यसपछि यहाँ लगाइएको बेलिब्रिज पुनः गत असोज १२ गते बाढीले बगाएपछि तेस्रो पटक जोड्न थालिएको बेलिब्रिज काम सकिने बेलामा भाँचिएपछि मेची राजमार्गको यो क्षेत्र पुलबिहीन छ । पानी नपर्दा डाइभर्सनमार्फत गाडी वारपार हुने भएपनि पानी पर्नासाथ खोला बढेर डाइभर्सन ढाक्ने गरेकाले यो क्षेत्रको यात्रा कष्टकर हुने गर्छ ।
सडक यो पुल जोड्ने र खोल्ने काम सडक डिभिजन इलाममार्फत भइरहेको छ ।
खोलिसकेर पुनः यही ठाँउमा बेलिब्रिज जडान गर्ने योजना सडक डिभिजन इलामको छ ।
डिभिजन सडक इलामका प्रमुख पवन भट्टराईका अनुसार बेलिब्रिज सोमबारसम्ममा खोलिसक्ने योजना छ ।
