खोटाङमा कोभिड-१९ विरुद्धको बुस्टर फाइजर खोप दिन थालियो

असार १५, २०८२

डम्बरसिं राई

Booster Pfizer vaccination against covid-19 started in Khotang

खोटाङ — कोभिड-१९ को संक्रमण बढ्न थालेपछि खोटाङमा त्यस विरुद्घको खोप दिन थालिएको छ । देशभर संक्रमणको प्रकोप बढ्न थालेपछि दिक्तेलमा आइतबारदेखि कोभिड-१९ विरुद्धको थप बुस्टर फाइजर खोप दिन थालिएको हो । 

जिल्ला समन्वय समिति र सरस्वती माविमा फाइजर खोप लगाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार जिल्ला समन्वय समितिको हलमा महिला २१ र पुरुष  २१ गरी ४२ जना र सरस्वती मावि दिक्तेलमा महिला २१२ र पुरुष १६४ गरी ४१८ जनालाई खोप दिइएको छ । दिक्तेल रूपाकोट मझुवागढीमा आगामी असार २० गतेसम्म खोप दिइने आचार्यले बताए ।

हलेसी तुवाचुङ नगरपालिकामा यही असार १७ देखि २० सम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले बताए । पहिलो चरणमा जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका २० हजारलाई खोप दिने योजना बनाइएको चौलागाईंले बताएका छन् । ‘पहिलो चरणमा दुई नगरपालिकाका २० हजारलाई खोप दिने योजना बनाइएको छ,’ उनले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully