पाँचथर — रोजगारीका क्रममा साउदी अरेबिया पुगेका पाँचथर याङवरक गाउँपालिका–३ ओयामका बिर्खबहादुर योङयाले २०७६ सालमा सडक दुर्घटनामा परी ज्यान गुमाए ।
शव आयो, काजकिरिया पनि सम्पन्न भयो, तर पहुँचको अभाव र जानकारी नहुँदा उनका अभिभावक र हकवालाले वर्षौंसम्म सामाजिक सुरक्षा बिमा योजना अन्तर्गत साउदी अरेबिया सरकारबाट प्राप्त हुने क्षतिपूर्ति रकम लिन सकेका थिएनन् ।
२०८१ सालमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मार्फत प्रक्रिया अघि बढाएपछि बिर्खबहादुरका अभिभावक र हकवालाले करिब ३३ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् ।
साउदी सरकारको अवधारणा अनुसार अघि बढिरहेको सामाजिक सुरक्षा बिमा योजनामार्फत रोजगारीका लागि विभिन्न देशबाट त्यहाँ पुगेका श्रमिकका अभिभावक र हकवालाले क्षतिपूर्ति पाउने व्यवस्था छ ।
सामी कार्यक्रममार्फत रकम प्राप्त हुने जानकारी पाएसँगै याङवरक–३ का वडाध्यक्ष बिमल राईको पहलमा बिर्खबहादुरकी आमा सुकमायालाई सदरमुकाम ल्याएर नागरिकता बनाइदिएपछि प्रक्रिया अघि बढाएर यत्तिको ठूलो रकम प्राप्त भएको हो ।
‘विक्रम संवत २००० सालमा जन्मेकी आमा सुकमायाले नागरिकतासमेत बनाउनुभएको थिएन, पहुँच र जानकारीको अभावमा क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढ्न सकेको थिएन । सामी कार्यक्रम मार्फत प्रक्रिया अघि बढाउँदा मृतकको परिवारले राहत पाउने जानकारी पाएपछि वडा कार्यालयले सहजीकरण गरेको हो,’ वडाध्यक्ष राईले भने ।
बिर्खबहादुर जस्तै रोजगारीकै सिलसिलामा साउदी पुगेका हिलिहाङ–७ निवासी चन्द्रबहादुर तामाङले पनि २०७० सालमा दुर्घटनामा परी ज्यान गुमाएका थिए । सामी कार्यक्रम मार्फत प्रक्रिया अघि बढाएपछि उनका अभिभावक र हकवालाले पनि ३३ लाख रुपैयाँ बराबरकै रकम प्राप्त गरेका छन् ।
चन्द्रबहादुरकी आमा ठगिमाया तामाले विदेशमा ज्यान गुमाएका छोराको नाममा सामाजिक सुरक्षा बिमा योजना मार्फत राहत र क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी नहुँदा आफूहरूले प्रक्रिया अघि नबढाएको बताइन् । सामी कार्यक्रमको सहजीकरणमा आमा, बुवा र श्रीमतीसमेतका हकवालाको नाममा ३३ लाख रुपैयाँ प्राप्त हुँदा केही राहत महसुस भएको उनले सुनाइन् ।
बिर्खबहादुर र चन्द्रबहादुर जस्तै वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका फिदिम–६ का डिल्लीकुमार सारु मगर, फिदिम–१० का मोहन जवेगू र फिदिम–१३ का वीरकुमार माङमुलगायत ११ जनाका अभिभावक र आफन्तले पछिल्लो एक वर्ष यता सामी कार्यक्रमको सहजीकरणमा राहत र क्षतिपूर्ति प्राप्त गरेका छन् ।
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका ५० जनाको निवेदनसहित राहत र क्षतिपूर्ति माग गर्दै प्रक्रिया अघि बढाइएकोमा ११ जनाको रकम भुक्तानी भइसकेको सामी कार्यक्रमका सहजकर्ता वीरेन्द्र भण्डारीले जानकारी दिए ।
स्थानीय तह, सामी कार्यक्रम अन्तर्गतको आप्रवासी स्रोत केन्द्र र साउदीस्थित नेपाली दूतावासको समन्वयमा मृतकका परिवारको निवेदन सङ्कलन, कागजात संकलनलगायतका प्रक्रिया पूरा गरी दूतावासको संयोजनमा राजदूतलाई समेत भर्चुअल बैठकमा आहृवान गरी समस्या राखेपछि यत्तिका मृतकका परिवारले राहत र क्षतिपूर्ति प्राप्त गरेको पाँचथरस्थित सामी कार्यक्रमकी संयोजक क्षोमाया तामाङले बताइन् ।
पछिल्लो एक वर्षमा ११ जनाका अभिभावक र सदस्यहरूको खातामा एक करोड हाराहारी रकम निकासा भइसकेको छ । सामी कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा उत्पन्न हुने समस्या समाधानका लागि विभिन्न प्रयास गरिरहेको छ । कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रले सूचना तथा कानुनी परामर्श, फोन फलोअप, मुद्दा दर्ता, पीडित र पीडक पक्षको छलफलपछि मेलमिलाप तथा सीप तालिम र क्षमता विकासका क्षेत्रमा सहजीकरण गरिरहेको छ ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, गएका र उनीहरूका आफन्तसम्म सूचना, न्याय, सीप, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श गरी पाँच क्षेत्रमा काम गरिरहेको छ ।
प्रहरी र पत्रकारसँग छलफल
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले पाँचथर जिल्लामा क्रियाशील पत्रकार र प्रहरीसँग छुट्टाछुट्टै छलफल गरेको छ । कार्यक्रममा एक वर्षको अवधिमा भएका गतिविधिको समीक्षा गर्दै सामी कार्यक्रमको क्षेत्राधिकार र सहजीकरण प्रक्रियाका विषयमा छलफल भएको थियो।
प्रहरीसँगको छलफलमा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी र उपमेयर राधाकृष्ण न्यौपाने र जिल्लाका विभिन्न प्रहरी चौकीका प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा गएका, ठगीमा परेका, ज्यान गुमाएका र अंगभंग भएर फर्किएका नागरिकको सुरक्षाका साथै राहत र क्षतिपूर्तिका लागि प्रहरीले निभाउनुपर्ने भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै छलफल गरिएको थियो ।
यस्तै, पत्रकारसँगको छलफलमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नागरिकका अभिभावक र आफन्तसँगै जिल्लामा क्रियाशील पत्रकार तथा जनप्रतिनिधिको सहभागिता थियो । अन्तरक्रियामा जिल्ला संयोजक तामाङले जिल्लाको फिदिम, फाल्गुनन्द, मिक्लाजुङ र फालेलुङमा यो वर्ष लक्षित सबै काम पूरा भएको जानकारी दिइन् ।
उनका अनुसार आगामी आर्थिक वर्षमा जिल्लाका कुम्मायक, तुम्बेवा, याङवरक र हिलिहाङ गाउँपालिकामा समेत कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।
