आफैले ६० रोपनीमा लगाएको आलु खन्दै जन्तेढुंगा गाउँपालिका

पालिकाले मलका लागि करिब तीन लाख खर्च गरेर दुई वटा भैंसी पनि खरिद गरेको छ

असार १४, २०८२

डम्बरसिं राई

Jantedhunga rural municipality digging potatoes planted in 60 seedlings by himself

खोटाङ — जन्तेढुंगा गाउँपालिकाले आफैले लगाएको आलुको उत्पादन उठाउन थालेको छ । करिब ६० रोपनी बाँझो बारीलाई खनजोत गरी पालिकाले आलु रोपेको थियो ।

गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार वडा नं ४ डम्बर्खुशिवालयस्थित गाउँपालिकाको नाममा रहेको ११ रोपनी र अन्य सार्वजनिक जग्गासहित ६० रोपनी बारीमा लगाएको आलु बिहीबारदेखि खन्न थालिएको हो । कृषिले सिफारिस गरेको तीन क्विन्टल र स्थानीय रैथाने सात मुरी आलुको बिउ रोपिएको थियो । 

६० रोपनी जग्गामध्ये १५ रोपनीजतिमा मकैसहित आलु रोपिएको छ भने बाँकी सबै आलु रोपिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । उनका अनुसार आलु खन्न करिब एक साता लाग्नेछ । बिहीबार एकै दिन ३५ केजी जाने २४ बोरा आलु खनिएको छ । ‘आलु खन्न एक साताजति लाग्ने भए पनि कति उत्पादन भयो भन्ने चाहिँ खनिसकेपछि थाहा हुन्छ,’ खड्काले भने, ‘उत्पादित आलु स्थानीय बासिन्दालाई सस्तोमा बिक्री गर्ने योजना बनाइएको छ ।’ 

Jantedhunga rural municipality digging potatoes planted in 60 seedlings by himself

खड्काका अनुसार स्थानीय बजारमा प्रतिकेजी ७० रूपैयाँमा आलु किनबेच हुने गरे पनि गाउँपालिकाले उत्पादन गरेको आलु प्रतिकेजी ६० रूपैयाँले बच्नेबारे छलफल भइरहेको छ । 

पालिकाले मलका लागि करिब तीन लाख खर्च गरेर दुई वटा भैंसी पनि खरिद गरेको छ । आलु रोपिएको ठाउँमा पालिकाले तिते फापर रोप्ने तयारीसमेत गरेको छ । कृषि उत्पादन, रैथाने बाली प्रवर्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थानीय खेतीलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष राईले बताइन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully