विद्यालयको जग्गामा नगरपालिकाले बनायो बहुतले भवन

असार १३, २०८२

नवराज सुवेदी

The municipality built many buildings on the school land

झापा — मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयको जग्गामा संरचना निर्माण गरेर 'गौरवको योजना' सञ्चालनमा ल्याएको छ । धुलाबारी माविको १० कट्ठा जमिनमा साढे तीन करोड लागतमा बहुतले संरचना बनाएर नगरले ‘महिला सीप विकास केन्द्र' सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले सीप विकास केन्द्र भवनको बिहीबार उद्घाटन गरे । पटक–पटक गरी करोडौं रुपैयाँ खर्च भएको यस भवन नगरको स्वामित्वमा रहेको जमिनमा निर्माण भएको भने होइन । धुलाबारी माविलाई ‘आम्दानीको स्रोतका रुपमा प्रयोग गर्नु' भनी दाताले दिएको १० कट्ठा जमीनमा भवन निर्माण भएको स्रोत बताउँछ ।

'मेचीनगर–८ मा धुलाबारी माविको नाममा १० कट्ठा जमिन थियो । त्यो  स्थानीय खड्का परिवारले भोग गरिरहेका थिए,’ मेचीनगर–८ का एक स्थानीय भन्छन्, ‘पछि नगरपालिकाले जमिन भोग गरिरहेको परिवारलाई घर बनाउन जग्गा दिने र बाँकी रहेको जमिनमा महिला सीप विकास केन्द्रको भवन निर्माण गर्ने भनेर सम्झौता गर्‍यो ।' 

ती स्थानीयका अनुसार जमिन प्रयोग गरेबापत नगरले उक्त विद्यालयलाई वार्षिक रकम पनि बुझाउनुपर्ने सर्त छ । तर, विद्यालयको जमिनमा करोडौं रुपैयाँ खर्चिएर यत्रो भवन बनाउनु दीर्घकालिन भने नहुने ती स्थानीय बताउँछन् । ‘पछि धुलाबारी माविले आवश्यकता महसुस गर्दै आफ्नो जमिन फिर्ता लिन खोज्यो भने यो भवन के होला ?,’ उनको जिज्ञासा छ ।

धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले सीप विकास केन्द्रको भवन निर्माण भएको उक्त जग्गा विद्यालयकै भएको बताए । जग्गा प्रयोग गरेबापत नगरपालिकाले विद्यालयलाई वार्षिक ३० हजार रुपैयाँ रकम उपलब्ध गराइरहेको पनि उनको भनाइ छ । उनका अनुसार नगर र विद्यालयबीच जग्गा प्रयोगका सन्दर्भमा एउटा सम्झौता भएको छ । उक्त सम्झौतामा वार्षिक तिर्नुपर्ने रकम उल्लेख भए पनि कति समयसम्म नगरले उक्त जग्गा प्रयोग गर्ने, कहिले फिर्ता गर्ने जस्ता विषय भने उल्लेख छैन ।

नगरपालिकाले भने सामुदायिक विद्यालयको जग्गा संरक्षण र सदुपयोगको अधिकार स्थानीय तहमा भएकाले उक्त अधिकार प्रयोग गरी संरचना बनाएको बताएको छ । नगरको प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले स्थानीय तहको अधिकार प्रयोग गर्दै सामुदायिक विद्यालयको जग्गा संरक्षण गर्ने योजना अनुरुप भवन बनाइएको बताए । 'विद्यालयका सन्दर्भमा भवन निर्माण, संरचनागत सुधार लगायतमा नगरले सहयोग गर्ने र विद्यालयको खाली रहेको जमिन नगरले सदुपयोग गर्ने भन्ने हो । विद्यालयसाग सम्झौता पनि भएको छ,’ उनले भने । हाल सञ्चालनमा आएको उक्त सीप विकास केन्द्र भवनको निर्माण प्रक्रिया भने २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिकै कार्यकालमा सुरु भएको थियो । 

तर, भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत सञ्चालनमा आउन सकेको थिएन । 

नवराज

Link copied successfully