पाँचथरमा भूमिहीन दलित र सुकुम्बासीका लागि जग्गा नापजाँच सुरु

असार १३, २०८२

लक्ष्मी गौतम

Land survey for landless dalits and squatters started in Panchthar

काठमाडौँ — हिलिहाङ गाउँपालिकामा रहेका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरणका लागि जग्गा छुट्याउन थालिएको छ ।

भूमि आयोग र हिलिहाङ गाउँपालिकाको सहकार्यमा वडा नम्बर ७ बाट जग्गा नापजाँच गरी छुट्याउन थालिएको हो । बिहीबार जग्गा नापजाँचको शुभारम्भ गरिएको छ । भूमि आयोगबाट खटेका प्राविधिक, कर्मचारीसँगै आयोगका पदाधिकारी र गाउँपालिका नेतृत्वको उपस्थितिमा बिहीबार भारपा-७ का भूमिहीन दलित २ र सुकुम्बासी २ गरी ४ परिवारका लागि छनोट गरेको जग्गा नापजाँच गरिएको थियो ।

भूमिहीन दलित र  सुकुम्बासीले आवास र खेतीपातीका लागि ५ रोपनी ६ आनाका दरले जग्गा प्राप्त गर्ने प्रावधान छ ।अव्यवस्थित बसोबासीका लागि समेत जग्गा धनीपुर्जा वितरणका लागि प्रक्रिया थालिने हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिए  ।

हिलिहाङमा भूमिहीन दलित ११, सुकुम्बासी ३७ र अव्यवस्थित बसोबासी ६ सय ८२ गरी कुल ७ सय ३० ले धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । जिल्लाभर भूमिहीन दलित १ सय ४, भूमिहीन सुकुम्बासी १ सय ३९ र अव्यवस्थित बसोबासी ७ हजार २२ गरी ७ हजार २ सय ६५ जनाले जग्गा प्राप्तिका लागि आवेदन दिएको भूमि आयोग पाँचथरका विज्ञ सदस्य विपेन्द्र गौतमले जानकारी दिए ।

उनीहरुलाई उपलब्ध गराउने जग्गा नापजाँचका लागि भूमि आयोगका प्राविधिकलाई फिल्डमा खटाइएको छ । 

भूमि आयोगका जिल्ला अध्यक्ष धनकुमार फियाकले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा दिने प्रक्रियामा विलम्ब नगर्ने बताएका छन् ।

‘वर्षौंअघि धनीपुर्जा प्राप्तिका लागि निवेदन दिएका थियौं, सरकार फेरिएपिच्छे आयोगमा पदाधिकारी फेरिए, धनीपुर्जा बाँडिएन । अबचाहिँ प्राप्त होला कि ?’ स्थानीय रुपा तामाङले भनिन् ।

हिलिहाङसँगै जिल्लाको फिदिम नगरपालिका तथा फालेलुङ, फाल्गुनन्द, याङवरक, कुम्मायक, तुम्बेवा, मिक्लाजुङमा पनि भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रक्रिया अघि बढिरहेको भूमि आयोगका सदस्य सचिव तथा नापी कार्यालय पाँचथरका प्रमुख उमेश नेम्बाङले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully