दिक्तेल बजार अनुगमन, ५४ हजारभन्दा बढीको म्याद नाघेको उपभोग्य वस्तु बरामद

असार १३, २०८२

डम्बरसिं राई

Diktel market monitoring, more than 54 thousand expired consumables seized

खोटाङ — दिक्तेल बजारमा शुक्रबार गरिएको बजार अनुगमनमा ५४ हजारभन्दा बढीको म्याद नाघेको उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको छ । 

हाटडाँडादेखि रत्नपार्क किरात चोक हुँदै अल्छेढुंगासम्मका विभिन्न पसलहरूमा गरिएको अनुगमनमा ५४ हजार १ सय ३५ रूपैयाँ बराबरको म्याद नाघेको उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय, कर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघको संयुक्त टोलीले अनुगमन गरेको हो । 

अनुगमनको क्रममा स्प्राइट, ड्यु, पेप्सी, रमपम, करेन्ट चाउचाउ, खुकुरी तेल, पानी पुरी मसला, चटपटे मसला, सेकुवा मसला, थुक्पा, पास्ता, जिरा, पापड, आटा, कुरमुरे, चिप्स, धुलो खुर्सानी लगायतका म्याद नाघेका उपभोग्य वस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका सूचना अधिकारी सन्तोष भट्टराईले बताएका छन् । बरामद वस्तु मुचुल्का बनाएर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले बताएका छन् । 

‘नियमित अनुगमनको प्रभाव र सर्वसाधारणमा चेतना बढेकाले थोरै मात्र म्याद नाघेको सामान बरामद गरिएको छ,’ उनले भने, ‘सदरमुकामलगायत ग्रामीण भेगमा समेत अनुगमनलाई तीव्रता दिइन्छ ।’     

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully