सप्तकोशीमा हुने विपद्‌जन्य घटनाको सामना गर्न अन्तरजिल्ला रणनीतिक प्रतिकार्य योजना तयार

असार १३, २०८२

अर्जुन सुवेदी

An inter-district strategic response plan is prepared to deal with the disaster in Saptakoshi

सुनसरी — सप्तकोशी नदीबाट निम्तन सक्ने विपद्जन्य घटनाको सामना गर्न सुनसरी र उदयपुरका सरोकारवाला निकायले अन्तरजिल्ला रणनीतिक प्रतिकार्य योजना तयार पारेका छन् ।

सप्तकोशी नदीबाट बर्सेनि बाढी र डुबानको उच्च जोखिम रहेको सुनसरी र उदयपुरका विभिन्न क्षेत्रमा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नेपाली सेनाको इटहरीस्थित भगवती दल गणले दुवै जिल्लाका सुरक्षा अधिकारी र स्थानीय तहका जनप्रतिनिधिबीच शुक्रबार अभ्यास कार्यक्रमको आयोजना गरी रणनीतिक योजना तयार पारेको हो । 

यसअघि स्थानीय तहहरुको समन्वयमा विपद् व्यवस्थापनका लागि तयारी सुरु गरेको गणले सुनसरी र उदयपुरका सुरक्षा अधिकारीसहित जनप्रतिनिधि, रेडक्रस सोसाइटी लगायतका सरोकारवाला निकायलाई भेला गराइ विपद् प्रतिकार्यको रणनीतिक योजना तर्जुमा गरेको हो । 

यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने भएपछि सुनसरी र उदयपुरमा सप्तकोशी नदीबाट हुन सक्ने सम्भावित विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकायबीच छलफल गरी प्रतिकार्य तयारी गरिएको नेपाली सेनाको भगवती दल गण सुनसरीका गणपति प्रमुख सेनानी राजन भुजुले जानकारी दिए । विपद्‌को २४ घण्टाभित्र तत्कालका लागि गर्न सकिने काम कारबाही, आपतकालीन सूचना व्यवस्थापन, राहत तथा उद्धारका लागि सबै संयन्त्र तयारी अवस्थामा रहेको दुवै जिल्लाका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिले बताए । 

कार्यक्रममा नेपाली सेना तथा रेडक्रसका पदाधिकारीले तत्कालका लागि १ सयदेखि १ सय ५० जनाका लागि खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाडावर्तन, औषधीलगायतका सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । 

यस्तै, उद्धारका लागि चाहिने एम्बुलेन्स, पिकअप भ्यान, रबरबोट लगायतका सामग्री तयारी अवस्थामा राखिएको जानकारी गराइएको छ । सप्तकोसी नदीले सुनसरी र उदयपुरका क्षेत्रमा बर्सेनि ठूलो क्षति पुर्‍याउँदै आएको छ । सप्तकोशी नदीस्थित चतरा पुल उत्तरतर्फ पहिरो र दक्षिणतर्फको क्षेत्रमा कटान तथा डुबानबाट आसपासका मानिस पीडित हुने गरेका छन् ।

अर्जुन सुवेदी

Link copied successfully