खोटाङ — पछिल्लो समय वैदेशिक रोजगारमा जाने महिलाको संख्या बढ्दै गएको छ । खोटाङबाट एक महिनाको अवधिमा वैदेशिक रोजगारमा गएका ८ सय २० जनामध्ये ८४ जना महिला रहेका छन् ।
सामी कार्यक्रमका खोटाङ संयोजक सन्तोष राईका अनुसार जेठ महिनामा मात्र ८४ महिला र ७ सय ३६ पुरुष वैदेशिक रोजगारमा गएका हुन् ।
बुधबार दिक्तेल बजारको भवनगैरास्थित यल्लो हाउसमा भएको सुरक्षित आप्रवासन सामी कार्यक्रमको वार्षिक फ्रगति समीक्षा तथा अन्तर्त्रिया कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म जिल्लाका २ हजार १ सय ४६ जना पुरुष र ९ सय ३३ जना महिला गरी ३ हजार ७९ जनाले राहदानी बनाएको जानकारी दिइएको छ । संयोजक राईका अनुसार एक वर्षमा वैदेशिक रोजगार विभागबाट ७ हजार ४ सय ६० पुरुष र ८ सय ५२ जना महिला गरी ८ हजार ३ सय १२ जनाले श्रम स्वीकृत लिएका छन् ।
वैदेशिक रोजगारीमा जाँदा आर्थिक योगदान, आयस्तर वृद्धि तथा जीवनस्तर सुधार, सीप र प्रविधि हस्तान्तरण, विदेशी मुद्रा आर्जन भए पनि अर्धदक्ष र अदक्ष श्रमिकको बाहिरिने प्रवृत्ति, मानसिक तनाव तथा पारिवारिक समस्या, विप्रेषणको सही सदुपयोगको अभाव, श्रमिक मृत्यु दरको वृद्धि, ठगी र कानुनी सुरक्षाको अभावजस्ता समस्या खेप्नु परेको राईले बताए ।
गत साउनदेखि जेठ समान्तसम्ममा ६१ वटा वैदैशिक रोजगारसम्बन्धी उजुरी आएकामा २६ वटा उजुरीको फर्स्योट भएको छ । अन्य ३५ वटा प्रक्रियामा रहेको राईले जानकारी दिए । वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएको, विदेशमा अलपत्र परेको, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाएका लगायतका विषयमा उजुरीहरू आउने गरेको राईले सुनाए ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन खोटाङका ५ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका र रावाबेसी गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ ।
जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा पनि सञ्चालन हुने तयारी भइरहेको राईले बताए । उनका अनुसार गत जेठ मसान्तसम्ममा आप्रवासी स्रोत केन्द्र दिक्तेलमा २ हजार ५ सय २२ जना पुरुष र १ हजार १ सय १४ जना महिला गरी ३ हजार ६ सय ३६ जनाले सेवा लिएका छन् ।
कोशी प्रदेशका दश स्थानीय तहमा पुनः एकीकरण रेमी परियोजना सञ्चालन गरिएको रेमी परियोजनाका संयोजक ओजोनबाबु आचार्यले बताए । उक्त परियोजनालाई वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि पुनः एकीकरणको प्रयासको काम गर्ने कार्यादेश छ ।
