खोटाङ — जिल्ला अस्पताल खोटाङको निर्माणाधीन ५० शय्याको भवन अलपत्र पार्ने निर्माण व्यवसायीहरूलाई तीन दिनभित्र निर्माणस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ ।
२०८० पुस २४ गतेभित्र सक्ने गरी सम्झौता गरिए पनि अहिलेसम्म भवन निर्माण नसकिएपछि आगामी असार १३ गतेभित्र निर्माणस्थलमा उपस्थित हुन निर्देशन दिइएको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिको आयोजनामा बुधबारको सर्वपक्षीय बैठकको निर्णयले निर्माणमा संलग्न श्यामसुन्दर निर्माण कम्पनीका विष्णु बुढाथोकी, नेपाल फूलबारी निर्माण कम्पनीका बाबुराम कटवाल र राम सागर निर्माण कम्पनीका खडानन्द पौडेललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको हो । २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग उक्त निर्माण कम्पनीहरूले सम्झौता गरेका थिए ।
पटकपटक म्याद थप्दै निर्माण अलपत्र परेपछि टहरामा उपचार गर्नुपर्ने बाध्यता छ । यो समस्यालाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन समितिले तत्काल निर्माण सम्पन्न गर्ने वातावारण सिर्जना गर्न तीनै निर्माण कम्पनीका प्रतिनिधिहरूलाई असार ११ गते बैठकमा बलाएको थियो । तर तीनमध्ये रामसागर निर्माण कम्पनीका प्रतिनिधि पौडेल मात्र उपस्थित भएपछि पत्राचार गर्ने निर्णय गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् ।
राईको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख सुरज पौडेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू सम्मिलित बैठकको निर्णयले जिल्ला अस्पताल खोटाङका प्रमुख डा रूपेश संग्रौलाले आगामी तीन दिनभित्र निर्माणमा संलग्नहरूलाई निर्माणस्थलमा उपस्थित हुन पत्राचार गरेका हुन् । तोकिएको समयमा उपस्थित नभए निर्माणमा सम्बद्धहरूलाई जहाँबाट जसरी पनि ल्याइने राईले बताएका छन् ।
कोशी प्रदेश सरकारको जेठ १२ गतेको बैठकले जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तर भवनको भौतिक प्रगति ७० प्रतिशतमात्र भएकाले ५० शय्याको सेवा विस्तार अन्योलमा परेको छ । भवन सकेर अस्पताललाई हस्तान्तरण नगरिन्जेलसम्म ५० शय्याको सेवा विस्तार गर्न नसकिने भएकाले जसरी पनि निर्माण सम्पन्न गराउनु पर्ने राईको भनाइ छ ।
‘प्रदेश सरकारले ५० शय्याको अस्पताल स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ तर भवन अपूरै हुँदा ५० शय्याको सेवा विस्तार गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘त्यसैले जसरी पनि भवन सम्पन्न गराउनु पर्ने अवस्था छ ।’
